झापा । दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको काम अघि बढाइने भएको छ । पाइपलाइन निर्माणका लागि भारत सहमत भएपछि विभिन्न चरणमा छलफल सुरु भएको हो ।

नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपले पाइपलाइन सम्बन्धमा दुई चरणमा छलफल गरिसकेको छ । पहिलो छलफल भारतमा पुस २७ र २८ गते भएको थियो भने दोस्रो छलफल काठमाडौँमा यसैसाता सम्पन्न भएको छ ।

दुई चरणको छलफलपश्चात् भारतको सिलगुढीदेखि पूर्वी नेपालको झापासम्म पाइपलाइन ल्याउन भारत सहमत भएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ज्वाइन्ट वर्किङ ग्रुपको काठमाडौँमा सम्पन्न सचिवस्तरीय बैठकमा यो सहमति भएको हो ।

निर्माणको मोडालिटी भने फाइनल भइनसकेको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “दोसो अन्तरदेशीय पाइपलाइन निर्माणका लागि भारत सहमत छ, हामी पनि सहमत छौँ, निर्माणको मोडालिटीका बारेमा थप छलफल भएपछि डीपीआर तयार गर्नतिर लाग्छौँ, हामी छिट्टै कामको टुङ्गोमा पुग्छौँ ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन ल्याइने छ । जसको दूरी करिब ३७ किलोमिटर हुनेछ । पाइपलाइनको सम्भाव्यता अध्ययन गर्न निगमले इन्डियन आयल कर्पोरेसनसमक्ष एक महिनाभित्रमा लिखित प्रस्ताव पेस गर्नेछ । पहिलो चरणमा पाइपलाइन सिलगढीबाट झापाको चारआलीसम्म ल्याइने छ ।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (मोतियारी–अमलेखगञ्ज) गत भदौबाट सञ्चालनमा आएको थियो । पौडेलको अनुसार मोतियारी–अमलेखगञ्ज पाइपलाइन पल्टिपल प्रोडक्ट पाइपलाइन हो । सिङ्गल ल्याएपछि २४ सै घण्टा चल्छ तर अहिले भने २४ सै घण्टा चलेको छैन । हाल पाइपलाइन २५ प्रतिशत मात्र प्रयोग भएको छ ।

आगामी असारदेखि सिङ्गल प्रोडक्टमा फुलफेजमा डिजेल आउने उहाँको भनाइ छ । पाइपलाइन आउनुभन्दा पहिले सीमा क्षेत्रको मूल्यमा प्रतिलिटर १४ रुपियाँ फरक थियो भने अहिले २० रुपियाँ छ । निगमले हाल प्रतिलिटर छ रुपियाँ बचत गरिरहेको छ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने समझदारी भएको छ ।

पाइपलाइन सुरु भएपछि ढुवानीको लागत घट्छ, मिसावट, लोडिङ जाम, बन्द, हडताल र समयको पनि बचत र आपूर्तिमा धेरै सहज भएको निगमले जनाएको छ ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न पनि विस्तृत प्राविधिक अध्ययन गर्न नेपाल र भारतका प्राविधिकको संयुक्त समूह बनाइने भएको छ ।

टोलीले प्रतिवेदन तयार गरी नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपमा पेस गर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार पाइपलाइनसँगै भण्डारण निर्माणका काम पनि गरिने छ ।