भद्रपुर । कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने भएको छ ।

तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने भएको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार गत आव २०७५/७६ मा झापामा दुई हजार ६४० हेक्टरमा तोरी खेती गरिएको थियो । सो वर्ष २ हजार ६०० मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

चालू आव २०७५/७६ मा ३ हजार हेक्टरमा लगाइएको तोरी खेतीबाट ४ हजार ५०० मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रको प्रक्षेपण छ । ४ हजारभन्दा बढी मेट्रिक टन तोरीले जिल्लालाई आत्मनिर्भर बनाउने भएकाले यसबाट अर्थतन्त्रमा अत्यन्त सकारात्मक योगदान पुग्ने प्राविधिक पौडेलको भनाइ छ ।