झापा । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेको अवस्थामा भारतीय सीमावर्ती नाकासँग जोडिएको झापा जिल्लामा यसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका विभिन्न निर्णय गरिएका छन्।

जिल्ला समन्वय समिति झापामा शुक्रबार बसेको सर्वपक्षीय बैठकमा कोरोनाबाट जिल्लावासीलाई बचाउन आकस्मिक कोष स्थापनादेखि सेल्फ क्वारेन्टाइन, स्वास्थ्य प्रयोगशाला निर्माण, सीमामा कडाइ, हाटबजार बन्द, भिडभाड नियन्त्रणसहित विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ।

सर्वपक्षीय बैठकले कोरोना भाइरसको जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारका लागि ५० लाख रुपैयाँ बराबरको आकस्मिक कोषको व्यवस्था गर्ने र सो कोषमा जिल्लाभित्रका नगरपालिकाहरूबाट ३ लाखको दरले र गाउँपालिकाहरूबाट २ लाखको दरले रकम जम्मा गर्न अनुरोध गर्ने र थप आवश्यक रकम व्यवस्थापन गर्न व्यक्ति तथा संघ संस्थाहरूलाई अनुरोध गर्ने।

उक्त रकम मेची अञ्चल अस्पताल व्यवस्थापन समितिले खाताबाट सञ्चालन गर्ने र जिल्ला भित्र कोरोना भाइरसको जोखिम न्यूनीकरण, रोकथाम र उपचारको लागि मात्र खर्च गरिनेछ। त्यस्तै काँकडभिट्टा बाहेकका झापा जिल्लाका अन्य सीमा नाकाहरूमा मानव आवत–जावत रोक्न संघीय सरकारलाई अनुरोध गर्ने र त्यसको समन्वय जिल्ला प्रशासन कार्यालय झापाले गर्नुका साथै काँकडभिट्टा नाकाबाट बिहान ८ बजेदेखि साँझ ६ सम्म मात्र मानव आवतजावत गर्ने व्यवस्था मिलाउने। काँकडभिट्टा नाकामा थप व्यवस्थित स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको संख्या बढाउने।

त्यसका लागि १–१ जना स्वास्थ्यकर्मी व्यवस्था गर्न भारतसँग सीमा नजोडिएका गाउँ तथा नगरपालिकासँग अनुरोध गर्न जिल्ला स्वास्थ्य कार्यालय झापाले समन्वय गर्ने। प्रदेश १ को उपयुक्त स्थानमा कोरोना भाइरसको संक्रमित व्यक्तिहरूको परीक्षणका लागि प्रयोगशालाको व्यवस्था मिलाउन संघीय र प्रदेश सरकारसँग अनुरोध गर्ने।

त्यसैगरी जिल्लाभित्र साप्ताहिक रूपमा लाग्ने हाट, बजार तत्काललाई बन्द गर्ने, माछा मासुको खुला बिक्री वितरण हुने र भारतबाट आयात हुने माछा, मासु र मासुजन्य पदार्थलाई पूर्ण रूपमा रोक्न लगाउने, सपिङ मल, होटेल, पसलहरूमा मास्क लगाउने, हात धुने व्यवस्था मिलाउन उद्योग वाणिज्य संघहरूलाई अनुरोध गर्ने।

सार्वजनिक यातायातहरूमा यात्रुहरूलाई अनिवार्य मास्क लगाउने, हात धुने व्यवस्था मिलाउने, क्षमताभन्दा बढी यात्रु राखी यात्रा नगर्ने नगराउने व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गर्ने, कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण, रोकथाम तथा उपचारलाई थप प्रभावकारी बनाउन अनुगमन तथा समन्वय समिति, यातायात व्यवसायी र उद्योग वाणिज्य संघ सहितको बैठकको आयोजना गर्ने, सबै सरकारी कार्यालयहरूमा पर्याप्त सावधानी अपनाउन आवश्यक व्यवस्था मिलाउने, सबै पालिकाहरूले पाँच दिन भित्र आआफ्नो पालिकाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने, पालिकाभित्र विदेशबाट आउने प्रत्येक व्यक्तिलाई सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, यदि संक्रमणको लक्षण देखिएमा तत्काल उपचारको प्रबन्ध गर्ने र बिरामीका परिवारलाई पालिकाको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए।

त्यस्तै अत्यावश्यक सामग्रीहरूको कृत्रिम अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाउने, प्रभावकारी रूपमा बजार अनुगमन गर्न पालिकाहरूलाई अनुरोध गर्ने र जिल्ला अनुगमन तथा समन्वय समितिले नियमित रूपमा बजार अनुगमन गर्ने निर्णय गरिएको उनले बताए। अनुगमन तथा समन्वय समितिको सचिवालय (स्टेयरिङ) का रूपमा संयोजकको संयोजकत्वमा राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू र नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति समेत रहेको सचिवालय समिति गठन गर्ने निर्णयसमेत गरिएको छ।