झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले विदेशबाट आएका नागरिकको सूचना स्थानीय बासिन्दाले प्रहरीलाई नदिएको गुनासो गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटसमार्फत स्थानीय टोल सुधार समिति, टोल विकास समिति र स्थानीय बासिन्दाले विदेशबाट आएका व्यक्तिको बारेमा सूचना नदिएको भन्दै गुनासो गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न र अन्य व्यक्तिमा संक्रमण हुन नदिने उपायका रुपमा लिइएको विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने विधिमा स्थानीयबाट सहयोग नपाएको उनको स्टाटसमा उल्लेख छ ।

उनले सबै काम प्रहरीबाट सम्भव नहुने पनि उल्लेख गरेका छन् । स्टाटसमा उनले भनेका छन्, ‘प्रहरीले सक्नेभन्दा बढी काम गरिरहेको छ । टोलमा हामी आफैँ निगरानी गर्दैछौँ भन्ने फोन पाउँ । टोल सुधार समिति आफ्नो टोल निगरानी गर ।’

नेपाल लकडाउनका समयमा प्रहरीलाई गुनासो नगर्न पनि उनले आग्रह गरेका छन् । उनले स्टाटसमा भनेका छन्, ‘हरियो सब्जी किन्न गएकालाई प्रहरीले किन खेदाएको भन्ने होइन, २-४ दिन जाउलो मात्र खाएर पनि बाँचिन्छ ।’

उनले ५ घण्टा अगाडि लेखेकाे स्टाटसमा प्रहरीलाइ सहयाेग गर्न आग्रह गरिएकाे छ । आफ्नो गाउँ टोलमा बिगत १५ दिन यता भारत तथा अन्य मुलुकबाट कोही आउनु भएको जानकारी भए कृपया जिप्रका झापाको ९८५२६९००४९ वा १०० मा जानकारी गराउन अनुरोध। अज्ञानता, मुर्खता वा लापरबाही गरी अझै पनि केही ब्यक्ति गाउँ समाजमा डुलिहिँडेको फेला पारिएको छ। खोजी कार्यमा सहयोग गरी रोग नियन्त्रमा लागि परौं।