इलाम। दैनिक ज्याला मजदुरी गर्ने इलामका ७५ जना मजदुरलाई ३३ हजारभन्दा बढी मूल्य बराबरको खाद्यान्न आइतबार वितरण गरिएको छ ।
नगरपालिकाका अति विपन्न परिवारका भवन निर्माण, बजारका सामान्य मजदुर र चिया मजदुरलाई ३३ हजार दुई सय मूल्यबराबरको खाद्यान्न वितरण गरिएको हो ।
विश्वमा कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएकाले रोजगारी गर्न नपाएका मजदुरहरुलाई राहत सामग्री वितरण गरिएको हो । प्रतिमजदुर चार केजीका दरले खाद्यान्न वितरण गरिएको इलामका सञ्चारकर्मी सुदिप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार छत्रमान राई र माई मेडिकल इलामका सञ्चालक खेमराज श्रेष्ठको आर्थिक सहयोगमा मजदुरलाई खाद्यान्न उपलब्ध गराएका गराइएको हो ।
इलाम नगरपालिका २ सुम्बेकका राईले उपलब्ध गराएको ३० हजारको चामल र इलाम नगरपालिका ७ का श्रेष्ठबाट प्राप्त भएको तीन हजार दुई सय रुपैयाँको चिउरा वितरण गरिएको हो ।
राई विगत एक वर्षदेखि कोरियामा कार्यरत छन् भने श्रेष्ठ विगत लामो समयदेखि इलाम बजारमा मेडिकल सञ्चालन गर्दै आएका छन् ।
खाद्यान्न प्राप्त गर्ने मजदुरमा ८० प्रतिशत इलामका र २० प्रतिशत पाँचथर र ताप्लेजुङ जिल्लाका रहेका छन् । मजदुरलाई तीन सय केजी चामल वितरण गरिसकेपछि अनुमति नलिएको भन्दै इलाम नगरपालिकाले वितरणमा रोक लगाएको बताइएको छ ।
श्रेष्ठका अनुसार वडा नम्बर ७ का अध्यक्षसँगको संयोजनमा खाद्यान्न वितरण गरिएको हो तर नगरपालिकाले प्रहरी पठाएर रोक्न लगाएपछि दुर्ई सय केजी चामल र ४० केजी बराबरको चिउरा भने वितरण गर्न नपाएको हो ।