पर्वत पोर्तेल,
झापा । मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो देशबाट फर्किएकाहरुको घरमा रातो संकेत लगाउन सुरु गरेको छ । नगरपालिकाले विदेशबाट फर्किएकाहरुको पहिचानपश्चात उनीहरुको घरमा रातो संकेत पोत्न सुरु गरेको हो ।

नगरका मेयर विमल आचार्यले विदेशबाट आएको भन्ने पहिचानका लागि यस्तो अभियान सुरु गरिएको जानकारी दिए । उनले भने, ‘जसको घरमा रातो रंगको संकेत छ, सम्झिनुस् त्यो घरको कुनै न कुनै सदस्य भर्खरै विदेशबाट फर्किएको छ ।’

विदेशबाट फर्किएकाहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सर्वसाधारणको सचेतनाका लागि त्यस्तो अभियान सुरु गरिएको मेयर आचार्यले जनाए । गत फागुन २२ यता मेचीनगर नगरपालिकाभित्र १६४ जना भारतलगायत तेस्रो मुलुकबाट फर्किएको पाइएको छ ।

ती सवैको घरमा रातो संकेत पोत्ने काम सुरु भएको छ । ‘रातो रंग लगाएका घरमा मान्छे होम क्वारेन्टाइनमा छन् भन्ने संकेत पनि हो’, मेयर आचार्यले भने,‘ यसो गर्दा अनुगमनका साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्न पनि सजिलो हुनेछ ।’

नगरका सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीका अनुसार २०७६ फागुन २२ यतादेखि मेचीनगर नगरपालिकाभित्र अहिलेसम्म भारतलगायत तेस्रो मुलुकबाट १ सय ६४ जना फर्किएका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट १ सय २३ जना छन् ।

यूएईबाट १९, कतारबाट ७, साउदी अरबबाट ६, मलेसियाबाट ४, अमेरिकाबाट २ तथा इजरायल, बहराइन र कतारबाट आउने १र१ जना छन् ।

उनीहरु अधिकांश होम क्वारेन्टाइनमा छन् । कतिपय वडा नम्बर ७ को सतिघट्टा, ११ को घाइजन, वडानम्बर ३ को पशुपति माध्यमिक विद्यालय र वडा नम्बर ४ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा छन् ।

नगरपालिकाले कोरोना संक्रमणको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै उनीहरुको समेत तथ्यांक संकलन सुरु गरेको छ । नगरका १५ वटै वडामा ५ हजार ३ सय ४७ जना जेष्ठ नागरिक छन् । कान्तिपुरबाट