अर्जुनधारा । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि अर्जुनधारा नगरपालिकाले शनिश्चरे माविको भवनमा ५० बेडको क्वाारेन्टाइन सञ्चालन गर्ने भएको छ ।

नगरभित्र क्वारेन्टाइनमा राख्नुपर्ने सशंकित व्यक्तिहरुको संख्या बढ्ने अवस्था सिर्जना भएपछि नगरपालिकाले क्वारेन्टाइनको क्षमता बढाउन शनिश्चरे बजारमै रहेको विद्यालयको भवनलाई प्रयोग गर्न लागेकोे हो ।

यसअघि ४ नम्बर वडाको स्वास्थ्य चौकी भवनमा १२ बेडको क्वारेन्टाइन सञ्चालनमा छ । उक्त क्वारेन्टाइनले अपुग हुने अवस्था आएपछि शनिश्चरे माविमा क्वारेन्टाइन निर्माण गर्न लागिएको हो ।

अहिले उक्त क्वारेन्टाइनमा ६ जनालाई राखिएको छ । ती सबै वैदेशिक रोजगारीबाट फर्किएका हुन् । नगरपालिकाले होम क्वारेन्टाइनमा भने १०० जनाभन्दा बढीलाई राखेको जनाएको छ ।

जिल्ला समन्वय समिति झापाले हरेक नगरपालिकालाई १ सय बेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएको छ । सोही निर्देशनबमोजिम तत्काललाई ५० बेडको क्वारेन्टाइन निर्माण गर्न लागिएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए । उनले त्यसका लागि बजेटको व्यवस्थापन गरिसकिएको बताए । अर्को ५० बेडका लागि सम्भाव्यता अध्ययन गरिरहेको उनको भनाइ छ ।

हाल क्वारेन्टाइन रहेको अर्जुनधारा स्वास्थ्य चौकीको भवनमा आईसोलेसन निर्माण गरिने भएको छ । आईसोलेसनका लागि आवस्यक प्रक्रिया सुरु गरिएको नगर प्रमुख रानाले जानकारी दिए ।

सोही अर्जुनधारा नगरपालिकाले सार्वजनिक स्थल अर्जुनधारा नगरपालिका,जेष्ठनागरिक चौतारी, अर्जुनधारा जलेश्वरधाम र नगरभित्र रहेका सबै सार्वजनिक स्थलका किटनासक औषधि छिट्ने काम भएको नगर स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।