अर्जुनधारा । लकडाउनको समयमा दैनिक उपभोग्यको सामाग्री खरिद बिक्री गर्न पाउने भए पनि  झापाको शनिश्चरे बजारस्थित सब्जी हट्टीमा पसल गर्ने एक महिलासहित तीन व्यापारीलाई प्रहरीले निर्ममतापूर्वक  कुटपिट गरेको छ ।

प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले स्थानीय तरकारी व्यापारी पवन साह, सुमन श्रेष्ठ र रञ्जु मण्डलमाथि कुटपिट गरेको पीडितले बताएका छन् । मंगलबार तीन बजेपछिको समयमा तरकारी पसल खोल्न लाग्दा प्रहरीको टोली सब्जी हट्टी पुगेको थियो ।

प्रहरीको टोली आएपछि आफूहरुले बन्द गर्ने भन्दा भन्दै प्रहरीले लठ्ठीले हात र ढाडमा प्रहार गरेको पीडित पवनले सुनाए । उनका अनुसार महिलामाथि पनि प्रहरीले बन्दाकोपीले हिर्काएका थिए । केही प्रहरीले भने छुटाउन खोजेको उनीहरुको भनाइ छ ।

व्यापारीमाथि कुटपिट गरेपछि टमाटर, लसुन, भाण्टा पोखिदिएको उनीहरुको दाबी छ । सब्जी पसल खोल्न लागेकाले कोही क्रेता पनि नआएको, लकडाउनमा पालना गर्नुपर्ने मापदण्डअनुसार बनाइएको दूरी पनि प्रहरीले भत्काइदिएको उनीहरुको दाबी छ ।

तर, स्थानीय वडाध्यक्षले समेत सम्झाउँदा पनि अटेर गरेर व्यापारीले तरकारी बिक्री वितरण गरिरहेको प्रहरीको भनाइ छ । प्रहरी इन्चार्ज सइ घनश्याम पाण्डेले भने अस्तिदेखि नै व्यापारीलाई सम्झाउँदै आएको तर अटेर गरिरहेको बताउँछन् ।

आफू जिल्लाको अनुगमनमा भएकाले विस्तृत थाहा नभएका भन्दै प्रहरी टोली सब्जी हट्टीमा गएको हुनसक्ने उनले बताए । तर, प्रहरीको भ्यानसहित टोली सब्जी हट्टी पुगेर कुटपिट गरेको पीडितले गुनासो गरेका छन् ।

अनुमति लिएको संस्थाले तरकारी घर घरमा वितरण गरिरहेकाले सब्जी बजार लगाउन नमिल्ने उनको प्रष्ट्योक्ति थियो । साँझ पर्न लाग्दा तरकारी किन्न अहिले सब्जी हट्टी पुगेका स्थानीयलाई भने व्यापारीले बिक्री गरेका छैनन् ।