झापा । लकडाउनका कारण दैनिक गुजारा गर्न कठिनाइ भएका परिवारका लागि अर्जुनधारा नगरपालिकाले राहत प्याकेज वितरण गर्ने भएको छ ।
नगरपालिकाको आज बसेको बैठकले प्रत्येक वडाका १ सय ५० विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने भएको हो । नगरमा ११ वटा वडा छन् । जसअनुरुप १ हजार ६५० विपन्न परिवारलाई नगरपालिकाले खाद्यान्न वितरण गर्नेछ ।
जसअनुसार बैठकल ४ जना परिवारका सदस्य भएको र ४ जनाभन्दा बढी परिवार सदस्य भएको दुई वर्गीकरण गरेको छ । ४ जना परिवारका सदस्य भएकालाई एक साताका लागि १० केजी चामल, १ केजी दाल, १ लिटर खानेतेल, १ केजी नुन र एउटा साबुन प्रदान गरिने नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।
उनका अनुसार ४ जनाभन्दा बढी सदस्य रहेका परिवारका लागि भने १५ केजी चामल, डेढ केजी दाल, १ लिटर खानेतेल, १ केजी नुन र एउटा साबुन प्रदान गरिनेछ । उक्त राहत सामग्री वडा कार्यालयबाट सिफारिस भइ आएका विपन्न परिवारले पाउनेछन् ।
राहत सामग्री खरिद, आपूर्ति तथा प्याकेजिका लागि भने उपमेयर कमला खतिवडा आचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ । बैठकले राहत सामग्री खरिद गर्नका लागि तत्काल १६ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।
खरिद समितिको बैठक बुधबार बस्ने र वडाबाट आएका सिफारिसका आधारमा ढिलोमा तीन दिनभित्र राहत प्याकेज वितरण गर्ने तयारी नगरले गरेको मेयर रानाले न्यूज सञ्जाल डटकमलाई जानकारी दिए ।
नगरको ८६औँ बैठकको निर्णयअनुसार राहत सामग्री व्यवस्थित वितरणका लागि वडाध्यक्षको संयोजकत्वमा वडा सदस्य, टोल विकास समितिका सदस्य, प्रहरी प्रतिनिधि, राजनीतिक दलका वडा प्रतिनिधि रहेको १५ सदस्यीय समिति गठन गरिने भएको छ ।