भद्रपुर। मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचाररत तीन जनामध्ये एकै परिवारका बुबाछोराको कोरोना सङ्क्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

भद्रपुर नगरपालिका ३ साबिक महेशपुर गाविस बस्ने सीताराम पाठक र उनका छोरा लीलाप्रसाद पाठकको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिए ।

ज्वरो र रुघाखोकी आएपछि बुबाछोरा शनिवार बिहान मेची अस्पताल भर्ना भएका थिए । उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि अस्पतालले सोमबार मात्र पठाएका थिए । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा पठाएको परीक्षण रिपोर्ट बुधवार दिउँसो आएको डा. ठाकुरले बताए ।

‘तीन जनामध्ये दुई जनाको रिपोर्ट आएको हो’, उनले भने, ‘एक जनाको रिपोर्ट आउन बाँकी छ ।’ यता एकै परिवारका आठ सदस्यमध्ये बुबाछोरा आइसोलेसनमा भर्ना भएका थिए, भने अन्य ६ जनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्वारेन्टाइनमा पठाइएको थियो ।

डेढ महिनाअघि उनका जेठो छोरा कतारबाट फर्किएपछि उनीहरूको परिवारमा ज्वरो र रुघाखोकी देखा परेको थियो । अहिले परिवारका सबै सदस्यको अवस्था सामान्य रहेको जनाइएको छ ।

यसअघि मेचीको आइसोलेसनमा भर्ना भएका भद्रपुरका एक र गौरदाहका एक जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।