बिर्तामोड । सामान्य बिरामीलाई समेत अस्पतालहरुले उपचारमा लिन नमानिरहेको समयमा झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालले भने सबै किसिमका बिरामीको उपचारका लागि २४सै घण्टा अस्पताल खुल्ला रहेको जनाएको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै अहिले पनि २४सै घण्टा जस्तोसुकै समस्याको पनि उपचार गर्न चिकित्सक र अस्पताल तयार रहेको बताएका छन् ।

‘हाम्रो काम भनेकै बिरामीलाई सेवा दिने हो, रोग लागेर बिरामी अस्पताल आउँदा अस्पताल भाग्ने कुरै भएन’, निर्देशक प्रसाईले भने, ‘हामीले २४सै घण्टा उपचारका लागि चिकित्सकलाई खटाएका छौँ ।’ अस्पतालमा आइसोलेसन, भेण्टिलेटर र आईसीयूसहितका सबै सेवा र दक्ष चिकित्सक भएकाले कुनै पनि रोगका विरामी उपचारका लागि अस्पताल आए जुनै समय पनि सेवा दिन अस्पताल सँधै तयार रहने निर्देशक प्रसाईको भनाइ छ ।

उनले अफवाह फैलाउँनेको भ्रममा नपर्न आग्रह गर्दै बिरामी भए ढुक्क सँग अस्पताल आउन नागरिकलाई आग्रह समेत गरे । कोरोनाबिरुद्ध सरकारले अवलम्बन गरेको अभियानमा साथ दिन अस्पताल सँधै तयार रहेकाले नागरिकलाई यो समयमा नआतिकन स्वास्थ्य सेवा लिन र आफ्नो पनि ख्याल गर्न अस्पतालले सुझाव समेत दिएको छ ।

अहिलेसम्म कोही बिरामी नफर्किएको र भेदभाव नगरिएको दाबी गर्दै विज्ञप्तिमा आरोप प्रमाणित भए हस्पिटल प्रशासनले कारबाही गर्ने पनि उल्लेख छ । सरकारलाई आवस्यक परेको समयमा आफ्नो अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिन तयार रहेको यसअघि नै अस्पतालले घोषणा समेत गरेको थियो ।