भद्रपुर । झापा समाज बेल्जियमले भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन समितिद्वारा आज आयोजित बैठकमै सो सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

समाजका अध्यक्ष प्रविण भण्डारी र महासचिव भेषराज श्रेष्ठको अगुवाईमा समाजले सङ्कलन गरेको सो रकम कोरोना भाइरसका कारण विपदमा परेका झापालीलाई राहतका लागि खर्च गरिने बताइएको छ ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले आफुले पाउँदै आएको पारिश्रमिकबाट ३० हजार रुपैयाँ विपद व्यवस्थापन कोषमा प्रदान गर्ने जानकारी दिएकी छन् ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको विपद व्यवस्थापन कोषको खाता सञ्चालन गरिएको र दाता महानुभावहरुलाई सहयोगको रकम त्यही कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।

नगरभित्र राहत दिनु पर्ने व्यक्तिको नामावली वडा अध्यक्षहरुमार्फत संकलन गरिएको र त्यस्ता व्यक्तिहरु ४ हजार २ सय परिवारको संकलन भइसकेको प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार वडा नम्बर १ को १३३० घरधुरीमा २०० घर परिवार, वडा नम्बर २ मा १८६८ घरधुरी घरपरिवारमा २०० घरधुरी, वडा नम्बर ३मा १४४२ घरधुरीमा १७८ घर परिवारलाई राहत वितरण गर्नु पर्ने वडाले सिफारिस गरेको छ ।

त्यसैगरी, वडा नम्बर ४ मा १४९२ घरधुरी भएकोमा ६८४ घरधुरी, वडा नम्बर ५ मा १२६१ घरधुरी भएकोमा ११२० घरधुरी, वडा नम्बर ६ मा १११६ घरधुरी भएकोमा ४६२ घरधुरी, वडा नम्बर ७ मा १७९२ घरधुरी भएकोमा ४०१ घरधुरी, वडा नम्बर ८ मा १०५२ घरधुरी भएकोमा २१८ घरधुरी, वडा नम्बर ९ मा १५९७ घरधुरी भएकोमा ४०६ घरधुरी, वडा नम्बर ४ मा १४१५ घरधुरी भएकोमा ४०० घरधुरी गरी ४२३९ घर परिवारलाई राहत दिनु पर्ने वडाबाट सिफारिस भएको छ ।

यसैबीच, मुना चियाले मेची अञ्चल अस्पताललाई १० थान पीपीइ सहयोग गरेको छ । मेची अञ्चल अस्पतालको प्रशासनिक भवनमा आज मुना चिया सञ्चालक महेशकुमार मित्तलले उक्त सामग्री हस्तान्तरण गरे ।

प्राप्त भएका १० थान पीपीइ राष्ट्रसंघले सिफारिस गरेको र नेपाली सेनाले प्रयोग गर्दै अत्याधुनिक र गुणस्तरीय रहेको मेची अञ्चल अस्पतालका मेसु डा। पिताम्बर ठाकुरले बताएका छन् ।