झापा । अर्जुनधारा नगरपालिकाले ४ नम्बर वडास्थित स्वास्थ्य चौकीमा स्थापना गरेको क्वारेन्टाइनमा थप एक जनालाई राखेको छ ।
भारतबाट नेपाल छिरेका अर्जुनधारा २ का एक व्यक्तिलाई बिहीबार राति क्वारेन्टाइनमा राखिएको नगरको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार झापा गाउँपालिकाको दक्षिणी नाकाबाट १२ जनाको हुलमा प्रवेश गरेका ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो ।
उनीसँगै बुद्धशान्ति गाउँपालिकाका एक व्यक्तिलाई पनि अर्जुनधाराको टोलीले उद्दार गरी सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा पठाइएको छ । उनीहरुसँगै हल्दिबारी गाउँपालिका, मेचीनगर, कनकाई नगरपालिका र कैलालीका व्यक्ति दुई दिनको बाटो हिँडेर नेपाल प्रवेश गरेका थिए ।
भोकै रहेका ती व्यक्तिहरुलाई उद्दार गर्न पुगेको टोलीले चाउचाउ, बिस्कुट र पानीको व्यवस्था मिलाएको शाखा प्रमुख बस्नेतले जनाए । उद्दार गर्न अर्जुनधाराबाट एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो ।
स्वास्थ्य शाखाका अनुसार अब अर्जुनधाराको क्वारेन्टाइनमा चार जना रहेका छन् । यसअघि ५ जनालाई क्वारेन्टाइनमा राखेर थप निगरानी गर्ने गरी घर पठाइएको छ । होम क्वारेन्टाइनमा भने ९५ जना रहेको बस्नेतको भनाइ छ ।
भारतबाट आएका व्यक्तिको उद्दारका लागि बुद्धशान्ति गाउँपालिकाको तर्फबाट एम्बुलेन्स पठाइए पनि अर्का व्यक्ति पनि चढेकाले अर्जुनधाराले नै उद्दार गरेको थियो भने कनकाईले स्वास्थ्यकर्मी बिना म्याजिक भेन पठाएको थियो ।