माधव घिमिरे,
विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षण गर्न थालिएयता प्रदेशका विभिन्न जिल्लाबाट बिरामीको ‘स्वाब’ संकलन भइरहेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण ज्वरो आउने र खोकी लाग्ने भएकाहरूले परीक्षणका लागि नाम लेखाउने क्रम पनि बढ्दै गएको छ ।

बिहीबार साँझसम्म परीक्षण गराउन नाम लेखाउनेको संख्या १ सय ८८ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थानीय प्रशासन, प्रहरी र जनप्रतिनिधिमार्फत शंकास्पद बिरामीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाउने गरेको जनाएको छ। गत आइतबारदेखि वीपी प्रतिष्ठानमा कोरोना भए नभएको परीक्षण गर्न थालिएको हो।

पछिल्लो पटक बिहीबार शंकास्पद ५ जना बिरामीको नमुना संकलन गरिएको छ। ओखलढुंगाका २ र सोलुखुम्वुका ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा। सुरेश मेहताले जानकारी दिए।

प्रदेश १ मा बिहीबारसम्म ५९ जनाको नमुना संकलन गरिएको छ। तीमध्ये ४५ जना पुरुष र १४ जना महिला छन्। संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट आइसकेको मेहताले बताए। ती सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ।

उनका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट ५, ओखलढुंगाबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जना शंकास्पद व्यक्तिको स्वाब संकलन भइसकेको छ।

कोरोना भाइरसका शंकास्पद १ सय ८८ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन्। सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्बुबाट ५-५ जना र उदयपुर र पाँचथर २-२ जनाले नाम दर्ता गराएको डा। मेहताले बताए।

प्रदेश १ मा बिहीबारसम्म आइसोलेसनमा ११ जना भर्ना भएका छन्। भर्ना भएकामध्ये ६ जना पुरुष र ५ जना महिला छन्। आइसोलेसनमा बस्नेमा सुनसरीबाट १, ओखलढुंगा र उदयपुरबाट २(२ जना महिला रहेका छन्। यस्तै मोरङबाट ४, ताप्लेजुङ र पाँचथरका १-१ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ।

आइसोलेसनमा रहेर उपचार र रेखदेखपछि निको भएर ४ जना डिस्चार्ज भएका छन्। प्रदेश १ का ४३ अस्पतालले ४ सय १ आइसोलेसन बेड तयारी अवस्थामा राखेका छन्। प्रदेशभरमा ३ सय ९७ वटा फिबर क्लिनिक सञ्चालनमा छन्। फिबर क्लिनिकमा बिहीबार मात्रै जाँचका लागि १ हजार ९ सय ४१ जना बिरामी आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरूलाई चिकित्सकका लागि चाहिने ६ सय ७६ वटा व्यक्तिगत सुरक्षा सामग्री वितरण गरेको छ। कान्तिपुरबाट