झापा । कोरोना भाइरस (कोभिड १९) का बेला सरकारले जारी राखेको लकडाउनका बेला विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन अर्जुनधारा नगरपालिकामा सहयोगी हात बढिरहेको छ ।
नगरपालिकाले खडा गरेको विपद कोषमा शुक्रबार एकै दिनमा एक लाख १ हजार नगद जम्मा भएको छ भने ३१ हजार ३६० रुपैयाँबराबरको खाद्यान्न उपलब्ध भएको छ । हिजोदेखि उक्त कोषमा रकम जम्मा गर्न सुरु गरिएको हो ।
नगरपालिकाका अनुसार शुक्रबार श्री कृष्ण प्रणामी सेवा समिति नेपाल सद्गुरु श्री देवचन्द्र सदन अर्जुनधारा–बिर्तामोड झापाले ५१ हजार रकम हस्तान्तरण गरेको हो ।
समितिका अध्यक्ष हरिप्रसाद कडरिया, सदन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद बजगाई, महासचिव शारदाप्रसाद थपलिया, कोषाध्यक्ष टहलदास ओली, सदस्य पुष्पप्रसाद आचार्यलगायतले संयुक्त रुपमा नगर प्रमुख हरिकुमार रानालाई हस्तान्तरण गरेको जनाइएको छ ।
त्यस्तै, कर्णाली बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा शाखाले पनि नगद ५० हजार विपद कोषमा जम्मा गरेको छ । कर्णालीकी अर्जुनधारा शाखा अध्यक्ष गौरीमाया चिमरिया (अस्मिता)ले नगर प्रमुख राना र उपप्रमुख कमला खतिवडा आचार्यलाई नगद हस्तान्तरण गरिन् ।
दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएकालाई राहत उपलब्ध गराउने उदेश्यले अर्जुनधारा नगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम उपलब्ध गराइएको अध्यक्ष चिमरियाले बताइन् ।
यस्तै, अर्जुनधारा दैवी प्रकोप व्यवस्थापन समूहले ३१ हजार ३६० रुपैयाँबराबरको ६ क्वीन्टल ९० केजी चामल नगरलाई उपलब्ध गराएको छ ।
हिजोमात्रै बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले नगद ५० हजार, अर्जुनधारा ११ का गणेश ढुंगानाले डेढ क्वीन्टल चामल र बिर्तामोडका शान्ता जबेगु, गजेन्द्र जबेगुले १ सय कार्टुन पिउने पानी उपलब्ध गराएका थिए ।