काठमाडौँ । पोखराका एकव्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सञ्चारमाध्यममा आएको जस्तो कोरोना भाइरस संक्रमणको पुष्टि नभएको मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको मिडिया ब्रिफिङका क्रममा पोखरामा भारतबाट आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको भनिए पनि त्यो पोजेटिभ नआएको जनाएका छन् ।

पोखरास्थित क्षेत्रीय प्रयोगशालामा ती व्यक्तिमा रिपोर्ट पोजेटिभ देखिएको र टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको प्रदेश ४ का मन्त्री किरण गुरुङले जानकारी दिएका थिए।

प्रवक्ता देवकोटाले एकपटक आएको नतिजा क्षेत्रीय प्रयोगशाला र काठमाडौँ दुवैतिर पुनर्परीक्षण गर्नुपर्ने बताए ।