अर्जुन कार्की,
झापा । मेचीनगर नगरपालिकाले दुई वटा वडामा ज्वरो मापन केन्द्र (फिभर क्लिनिक) सञ्चालनमा ल्याएको छ ।

मेचीनगर–६ को काँकरभिट्टास्थित मेची सामुदायिक भवन र १० नम्बर वडाको प्राथमिक स्वास्थ्य केन्द्रमा क्लिनिक सञ्चालनमा छ । गत चैत १८ गतेदेखि नै फिभर क्लिनिक सञ्चालनमा आएको हो ।

वडा नं. ६ का वडाध्यक्ष ललितबहादुर तामाङले पहिलो दिन अर्थात चैत १८ गते क्लिनिकमा १८, दोस्रो दिन २२, तेस्रो दिन ३० र शुक्रबार करिव २५ जनाले ज्वरो जाँच गरेको बताए । ज्वरो लगायतका अन्य रोगको समेत विरामीलाई सेवा प्रदान गरिएको उनले जानकारी दिए ।

फिभर क्लिनिकमा आउने विरामीको उपचार नोवेल अस्पताल विराटनगरका डा। किशोर पौडेल, डा। प्रतिक्षा थापा, डा. रेश्मा प्रधान, एमवीवीएस तेस्रो वर्षका विद्यार्थीहरु वर्षा प्रसाई, गृस ढकाल, चौथो वर्षका अभिरुष खनाल लगायतले सेवा प्रदान गरिरहेका छन् ।

वडा कार्यालयको नेतृत्वमा भएको फिभर क्लिनिकमा स्थानीय मनिषा मेडिकलले आवश्यक औषधि निःशुल्क उपलब्ध गराइरहेको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम गर्ने उद्देश्यले वडा तथा नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरेर मेचीनगरले फिभर क्लिनिक सञ्चालन गरेको हो ।

लकडाउनका कारण सामुदायिक भवनसम्म आउन नसक्ने विरामीहरुका लागि भने जानकारी आउनसाथ डाक्टरको टोलीसहितको टिम घर–घरैमा गएर उपचार गरिदिने व्यवस्था मिलाइएको उनले बताए ।

विरामी भएको घर वा छिमेकीले ज्वरो आएको खवर गरे तुरुन्त डाक्टरसहितको टिम घरैमा पुग्ने वडाध्यक्ष तामाङले बताए । वडा कार्यालयले शुक्रबार सञ्चालन गरेको रक्तदान कार्यक्रममा ९ जना महिलासहित ५४ जनाले रक्तदान गरेका छन् ।

लकडाउनका कारण विरामीहरु जिल्ला अस्पताल तथा विभिन्न स्वास्थ्य कार्यालय पुग्न असम्भव भइरहेका बेला झापामा रगत अभाव हुन थालेको छ । यता १० नम्बर वडा कार्यालयले पनि प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीको परिसरमा फिभर क्लिनिक सञ्चालन गरेको छ ।

ज्वरो लगायत अन्य प्रकारका रोगका विरामी दैनिक १५–२० जना आउने गरेको वडाध्यक्ष सुदय पनेरुले जानकारी दिए । त्यहाँ पनि गत चैत १८ गतेदेखि नै स्वास्थ्य सेवा प्रदान भइरहेको जनाइएको छ । वडाका विरामीहरुलाई डा। सुधाकर झा, एचए दिपेन्द्र चौधरी लगायतको टिमले सेवा प्रदान गरिरहेको वडाध्यक्ष पनेरुले बताए ।

लकडाउनको समयमा नगरवासीको स्वास्थ्यप्रति सचेत रहँदै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य सेवा ‘फिभर क्लिनिक’ मा विशेषज्ञ डाक्टरहरुबाट बालक, युवा, ज्येष्ठ नागरिक सबैको उपचार भइरहेको छ ।

मेचीनगरका नगरप्रमुख विमल आचार्यले लकडाउनका बेला आइपर्ने सबैखाले स्वास्थ्य समस्याको निराकरण आफ्नै गाउँघरमा होस् भनेर सञ्चालनमा ल्याइएको फिभर क्लिनिकबाट लाभ लिन नगरवासीहरलाई आह्वान गरेका छन् । लोकतन्त्र पोष्टबाट