0 Shares

झापा । अर्जुनधारा नगरपालिकाले गठन गरेको खाद्यान्न व्यवस्थापन समितिमार्फत विपन्नलाई प्रदान गरिने खाद्यान्न वितरण शनिबार पनि जारी रह्यो ।

कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले जारी गरेको लकडाउनका कारण दैनिक रोजीरोटी जोहो गर्न नसकेका नगरका विपन्न नागरिकलाई एक साताका लागि खाद्यान्न उपलब्ध गराउने निर्णयसँगै आज ७ नम्बर वडाले खाद्यान्न वितरण गरेको हो ।

नगरपालिकाको निर्णयबमोजिम ११ वटै वडामा १५० जनाका दरले ४ जना सदस्य रहेका परिवारलाई १० केजी चामल, ४ जनाभन्दा बढी रहेका परिवारलाई १५ केजी चामलसँगै दाल, तेल, नुन, साबुन उपलब्ध गराएको छ ।

७ नम्बर वडाध्यक्ष नविन ढुंगानाको नेतृत्वले शनिबार मिलडाँडा, दाहाल चौक, पौडेल चौक, जरुवा बस्ती, गढी गाउँ र गोसखानमा खाद्यान्न सामग्री वितरण गर्यो । नगर युवा परिषद्का सदस्य तथा सहयोगी कमल पोख्रेलका अनुसार १२० घरपरिवारलाई वितरण गरिसकिएको छ । बाँकी सांगेटाेल, खसी हट्टी र डाँडा गाउँका ३० परिवारलाई आइतबार वितरण गरिने भएको छ ।

खाद्यान्न वितरणमा वडा सदस्य सारदा भट्टराई, देवकुमार राई, सन्ताेष नेम्वाङ, गाेमा पर्वते, नेकपाका भाेला परियार, तुलसी श्रेष्ठ, देवेन्द्र मैनाली, केवल चौहान, सञ्चारकर्मी लगायत सहभागी थिए ।

यसैगरी ८ नम्बर वडाले खाद्यान्न वितरणलाई जारी राखेको छ । नगरले १५० जनालाई वितरण गर्ने निर्णय गरे पनि वडाले २ लाख २५ हजार थपेर ४७० जना विपन्न परिवारलाई वितरण गरिरहेको हो ।

५ नम्बर वडामा पनि खाद्यान्न वितरण जारी छ । १ नम्बर वडादेखि सुरु भएको खाद्यान्न वितरण भोलिदेखि २ नम्बर वडामा पनि वितरण गरिने नगरपालिकाले जनाएको छ ।