झापा । कनकाई नगरपालिका ४ कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्बासी बस्तीमा आज अपराह्न आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ ।

पूर्वपश्चिम राजमार्गको कोटीहोम नजिक भएको आगलागीबाट सुकुम्बासी बस्तीका झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पुर्णरुपमा नष्ट भएको हो । प्रहरीका अनुसार सवा चार बजेबाट राईको घरबाट आगलागी सुरु भएको थियो ।

आगलागीबाट सबै घर जलेर नष्ट भएको छ भने आर्थिकरुपमा के कति क्षति भयो भन्ने तथ्यांक आएको छैन । आगलागीमा परेकामध्ये झकड भने यसअघि नै मेयर आवास क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

आगलागी स्थानीय र दमक नगरपालिकाको दमकल र कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयको पहलमा निभाइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।