भद्रपुर । लकडाउन उल्लघंन गर्ने भद्रपुरबाट ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । वडा प्रहरी कार्यालय भद्रपुरले नगर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएर छाडेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

वडा प्रहरीले शुक्रवार १८ र शनिवार २३ जनालाई नियन्त्रणमा लिएका थियो । उनीहरूले लकडाउन उल्लघंन गर्दै घरबाहिर निस्किएपछि वडाका प्रहरी निरीक्षक डम्बर पुरीसहितको टोलीले नियन्त्रणमा लिएका थिए ।

दुई घण्टा प्रहरी नियन्त्रणमा राखेर उनीहरूलाई लकडाउन अवधिभर आइन्दा घर बाहिर ननिस्किने, निस्किएको पाइए फेरि नियन्त्रणमा लिई मुद्दा चलाउने सर्तमा छाडिएको प्रहरीले जनाएको छ ।

त्यस्तै वडा प्रहरीले शनिबार बजारका दिन चार वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको छ । एउटा ट्रयाक्टर, दुई वटा मोटरसाइकल, एउटा स्कुटर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारीसाधन वडा प्रहरीमै राखिएको छ ।

यता वडा प्रहरीले लकडाउनमा भद्रपुर बजारमा हाटबजार लाग्न दिएको छैन । शनिबार केही सब्जी पसल लाग्न खोजेपछि प्रहरीले ती पसलहरू बन्द गराएको थियो । उनीहरूलाई टोल टोलमा डुलेर बिक्री वितरण गर्न प्रहरीले अनुरोध गरेका छन् ।