पर्वत पोर्तेल,
झापा । आफूलाई डाक्टर बताउने दुई जना युवा आइतबार निजी कारबाट पूर्वी नाकामा ओर्लिए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सोधपुछ गर्दा पत्ता लाग्यो उनीहरु डाक्टरको नक्कली परिचय पत्र भिरेर लागू पदार्थ किन्न आएका रहेछन् ।

प्रहरी कार्यालयका डीएसपी राजेन्द्र पोख्रेलका अनुसार नक्कली डाक्टर बनेर लागू पदार्थ किन्न आएका ललितपुर महानगरपालिका १४ का ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौं २९ का २८ वर्षीय गणेश अधिकारी रहेका छन्। डीएसपी पोख्रेलका अनुसार शंका लागेर सोधपुछका क्रममा उनीहरुको वास्तविकता पत्ता लागेको हो।

उनीहरु सवार गाडी खानतलासी गर्दा १ लाख २५ हजार नगद, ब्राउन सुगर सेवनमा प्रयोग हुने नोट, ब्लेड र सिक्का समेत फेला पारिएको छ।

उनीहरुलाई तत्काल मेचीनगर ८ को आदर्श माविको क्‍वारेन्टाइनमा राखिएको छ। १४ दिन क्वारेन्टाइनमा राखेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।