झापा । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबारदेखि नगरका ५ वटा वडामा फिभर क्लिनिक सञ्चालनमा ल्याएको छ ।
शाखाले नगरको १, २, ३, ९ र ११ नम्बर वडामा फिभर क्लिनिक सञ्चालनमा ल्याएको हो । स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार १ नम्बर वडाको सिस्नेस्थित सामुदायिक स्वास्थ्य इकाइमा फिभर क्लिनिक सञ्चालनमा ल्याएको हो । त्यहाँ स्वास्थ्यकर्मी प्रमिला येक्तेनलाई फोकल पर्सन तोकिएको छ ।
२ नम्बरको साठीमुरेस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्यकर्मी अञ्जु साँवा लिम्बूलाई फोकल पर्सन तोकिएको छ भने वडा नम्बर २ को खुदुनाबारी स्वास्थ्य चौकीमा लक्ष्मणप्रसाद साहलाई फोकल पर्सन तोकिएको छ ।
त्यस्तै, ९ नम्बरको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि फिभर क्लिनिक सञ्चालनमा ल्याइएको छ । जसमा डम्बर वल्लभ मिश्र फोकल पर्सन रहेका छन् भने ११ नम्बर वडाको सालबारीमा सन्ध्या दाहाललाई तोकिएको छ ।
स्वास्थ्य शाखाले निर्धारण गरिएको फिभर क्लिनिकमा कोरोना भाइरसको संक्रमण हुन नदिन ज्वरो नापिने बस्नेतले जानकारी दिए । उनका अनुसार अत्यधिक ज्वरो भएको खण्डमा बिरामीको अवस्थालाई हेरेर उपचार गरिने छ ।
फिभर क्लिनिकबाट स्वास्थ्य सल्लाहसँगै बिरामीलाई सिटामोल उपलब्ध गराइने भएको छ । खुदुनाबारीमा १३ जना कर्मचारी र अन्य स्थानमा ३ जनाका दरले कर्मचारी खटाइएको बताइएको छ ।
स्वास्थ्य शाखाले अब ५ नम्बर वडामा फिभर क्लिनिक सञ्चालनमा ल्याउने तयारी गरेको छ ।