भद्रपुर । झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले लकडाउनका कारण उद्योग वन्द हुँदा कामविहीन भएका आफ्ना श्रमिकलाई राहतस्वरुप चामल प्रदान गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका आफ्ना कामदारलाई निःशुल्क चामलसहित सबैलाई दुई हजार रुपैयाँ सापटीस्वरुप दिएका छन् । लकडाउन खुलेर काम सुचारु भएपछि सो दुई हजार रुपैयाँ उनीहरुको पारिश्रमिकबाट काटिने पराजुलीले जानकारी दिए ।

उनले अहिले बन्द रहेका आफ्नो भद्रपुर ६ स्थित पराजुली चिया प्रशोधन कारखाना, चिया बगान र मेचीनगर १५ स्थित बायोमास त्र्रिकेट उद्योगमा कार्यरत १७० भन्दा बढी मजदूरलाई निःशुल्क रुपमा चामल र सापटीस्वरुप रकम उपलब्ध गराएको उनले बताए ।

अत्यावश्यक वस्तुमा पर्ने खाना पकाउने ग्यासको उद्योगमा भने सामाजिक दूरी कायम राखी श्रमिकहरुले काम गरिरहेकोले उनीहरुलाई भने सो सुविधा नरहेको पराजुलीको भनाइ छ ।

उनले संकटको बेला आफ्ना कामदार र मजदूरलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउँदै आफ्ना श्रमिकको संरक्षण गर्नु उद्योगीहरुको दायित्व पनि रहेको उनको भनाइ छ ।