0 Shares

झापा । अर्जुनधराा नगरपालिकाको १० नम्बर वडाले ४५१ विपन्न घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । वडा कार्यालयले मंगलबार र बुधबार वडामा खाद्यान्न वितरण गरेको हो ।

लकडाउन लम्बिरहेको बेला वडाले टोल टोलमा पुगेर राहत सामग्री वितरण गरेको हो । कोरोना भाइरस संक्रमणलाई फैलन नदिनका लागि दूरी कायम गरी राहत वितरण गरिएको वडा सदस्य भोला गौतमले बताए ।

उनका अनुसार १ नम्बर टोल विकास समितिमा ३२ घरपरिवारलाई खाद्यान्न वितरण गरियो भने २ नम्बरमा ४३ घरपरिवारले खाद्यान्न पाएका छन् । वडाध्यक्ष बलदेव गोम्देनको नेतृत्वमा रहेको राहत वितरण टोलीले ३ नम्बर टोल विकास समितिमा ५२ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।

४ नम्बर टोल विकास समितिमा ५९ घरपरिवारले पाउँदा सबैभन्दा बढी ५ नम्बर टोल विकास समितिअन्तर्गत रहेका २६५ घरपरिवारले खाद्यान्न सामग्री पाएका छन् । राहत वितरणमा वडा सदस्य सकुन्तला बराल, सीता परियार, फिपराज कुरुम्बाङलगायत पाँच वटै टोल विकास समितिका पदाधिकारीहरु सहभागी थिए ।

नगरपालिकाले तय गरेको १५० विपन्न परिवारलाई उपलब्ध गराउनुपर्ने मापदण्डभन्दा बढी खाद्यान्न वितरण गरिएको वडाध्यक्ष गोम्देनको भनाइ छ । उनका अनुसार वडाका विपन्न परिवारलाई वितरण गरिएकाे खाद्यान्नमा सहयोगी हातहरुको समेत सहभागिता रहेको छ ।

क्रसर व्यवसायीहरुका तर्फबाट भीमचन्द्र भट्टराईले ७५० केजी चामल र १२५ लिटर खानेतेल उपलब्ध गराए भने मगमग चाउचाउले २५ कार्टुन चाउचाउ उपलब्ध गराएको वडा सदस्य गौतमले जानकारी दिए ।

त्यस्तै, कालिका पीठ (पण्डित समूह) ५० हजार १ सय नगद, रोटरी क्लब अफ बिर्तामोडले २५ हजार नगद, घरजग्गा खरिद बिक्री केन्द्र सेतीपानी र बुद्धशान्तिले १५ हजार उपलब्ध गराउँदा समाजसेवी गोमा न्यौपानेले २ परिवारका लागि राहत सामग्री उपलब्ध गराइन् । त्यस्तै, समाजसेवी प्रेमबहादुर थापाले ११५ केजी चामल विपन्न परिवारका लागि उपलब्ध गराएका छन् ।

१० केजी चामल, एक लिटर तेल, एक केजी दाल, एक केजी नुन र साबुन वडाका विपन्न परिवारलाई वितरण गरिएको वडा सचिव कृष्ण नेपालले जानकारी दिए । उनका तीन लाख १५ हजार ७ सय मूल्यबराबरको राहत सामग्री वडामा वितरण गरिएको हो ।