बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) को उल्लंघन गर्ने २९९ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्दाबन्दीको अवधिमा जिल्लाका विभिन्न स्थानमा सवारी चलाउने ती सवारी साधानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

‘लकडाउनको समयमा अत्यावश्यक कामबाहेक सवारी चलाउने सवारीलाई नियन्त्रणमा लिएका हौँ’, उहाँले भन्नुभयो, ‘झापामा लकडाउनको पूर्ण पालना गर्न हामी प्रयासरत छौँ ।’

प्रहरीले झापाको दमक, झिलझिले, माइधार, गौरादह, गौरीगञ्ज, कन्काई, बिर्तामोड, मेचीनगर, भद्रपुर लगायतको स्थानबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो ।

जिल्लाका विभिन्न स्थानबाट २८० वटा मोटरसाइकल, १२ वटा अटोरिक्सा, २ वटा ट्याक्टर र ५ वटा कारजिप नियन्त्रणमा लिएर मातहतमा प्रहरी कार्यलयमा राखिएको प्रमुख कोइरालाले बताउनुभयो ।

नियन्त्रणमा लिइएका सवारीसाधन लकडाउन खुलेपछि आवश्यक प्रक्रिया पूरा गरेर धनीलाई दिइने उहाँको भनाइ छ । अतिआवश्यक सवारीसाधनलाई भने अनुमति पत्र हेरेर सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ ।