झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन बढेपछि झापामा प्रहरीले नयाँ रणनीति अपनाएको छ । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई सडकमै २ घण्टा उभ्याएर कारवाही थालेको हो ।
‘टु आवरस् लकडाउन सेल’ नाम दिएर प्रहरीले बुधबारदेखि जिल्लाको बिर्तामोडस्थित मुक्तिचोकमा सामाजिक दूरीमा राखेर कारवाही थालेको हो । लकडाउनमा अत्यावश्यक कामबाहेक विभिन्न बहाना देखाएर घरबाहिर निस्कने क्रम बढेपछि प्रहरीले कारवाहीको नयाँ शैली अपनाएको हो ।
प्रहरीले लकडाउन उल्लंघन गरी हिँडडुल गर्ने र सवारी चलाउने ५० जनाभन्दा बढीलाई बुधबार २ घण्टा उभ्याएको छ । यसैबीच, नियन्त्रणमा लिइएका सवारीसाधन लकडाउन खुलेपछि आवश्यक प्रक्रिया पूरा गरेर मात्र धनीलाई दिइने प्रहरीले जनाएको छ ।
यो कारवाहीको शैली लकडाउन अवधिभर निरन्तरता दिइने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द्र रिजालले जानकारी दिनुभयो ।
यसैबीच, प्रहरीले लकडाउनको उल्लंघन गर्ने ३ सय बढी सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवधिमा जिल्लाका विभिन्न स्थानमा सवारी चलाउने ती सवारी साधानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले झापाको दमक, झिलझिले, माइधार, गौरादह, गौरीगञ्ज, कन्काई, बिर्तामोड, मेचीनगर, भद्रपुर लगायतको स्थानबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो ।
जिल्लाका विभिन्न स्थानबाट २८० वटा मोटरसाइकल, १२ वटा अटोरिक्सा, २ वटा ट्याक्टर र ५ वटा कारजिप नियन्त्रणमा लिएर मातहतमा प्रहरी कार्यलयमा राखिएको प्रहरीले जनाएको छ ।