शिवसताक्षी । झापाका स्थानीयतहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेकी छिन् ।

शिवसताक्षी नगरपालिकामा बुधबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा गीताकुमारी राईले जिम्मेवारी सम्हालेकी हुन् । उनी अर्जुनधारा निवासी हुन् ।

इलाका प्रशासन कार्यालय दमकमा शाखा अधिकृतको रुपमा रहेकी राई बढुवा भई स्थानीय तहकै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भइन् । नगरपालिकाबाट विष्णुबहादुर अधिकारले विदा लिएको चार महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको नगरपालिकाले जनाएको छ ।

यसबीचमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले निमित्त भई सम्हालेका थिए । अधिकृत राईलाई शिवसताक्षी नगरपालिका मेयर चन्द्रकुमार शेर्मा, उप मेयर भोजकुमारी नेपालसहित कर्मचारीहरुले स्वागत गरेका छन् ।

स्वागत गर्दै मेयर शेर्माले स्थानीयतहले पहिलो पल्ट महिला प्रमुख प्रशासकीय अधिकृत हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनलाई हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कारोना भाइरस रोकथामका बारेमा नगरले गरेको गतिविधिहरुको बारेमा नगर प्रमुख शेर्माले जानकारी गराए ।

अधिकृत राईले स्थानीय तहको अनुभव नभए पनि ऐन कानुनको परिधिभित्र रहेर नगरमा सुशासन कायम गर्दै र विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।