झापा । कोरोना भाइरस (कोभिड १९) का बेला सरकारले जारी राखेको लकडाउनका बेला विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन अर्जुनधारा नगरपालिकालाई विभिन्न संघसंस्थाले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

लकडाउनका कारण दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले स्थानीय संघ÷संगठनले शुक्रबार नगरपालिकालाई रकम तथा खाद्यन्न उपलब्ध गराएका हुन् ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार नगद प्रदान गर्यो । त्यस्तै, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले ५१ हजार, कमल गाउँपालिका वडा नम्बर ३ को नवोदय बहुउद्देश्यीयले सहकारी संस्थाले १० हजार नगदै सहयोग गरेको छ ।

त्यस्तै, २०४८ चौतारी एसएलसी समुह शनिश्चरे माविले २१ ह्जार रुपैयाँ बराबरको चामल र अर्जुनधारा जेसीजले एक हजार केजी चामल नगरपालिकालाई उपलब्ध गराएको छ । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टी अर्जुधारा नगर परिषदले ७ क्वीन्टल चामल राहत वितरणका लागि दिएको छ ।

ती संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिले नगर प्रमुख हरिकुमार राना र उपप्रमुख तथा खाद्यान्न व्यवस्थापन समितिकी संयोजक कमला खतिवडा आचार्यलाई नगद तथा खाद्यन्न हस्तान्तरण गरेका हुन् ।