रोहित काफ्ले,
झापा । तेस्रो देश पुनस्र्थापना भइ झापा र मोरङका शिविरमा बाँकी रहेका भूटानी शरणार्थीलाई झापा जिल्ला उद्योग संघले राहतस्वरुप चामल उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुरोधमा संघले झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका भूटानी शरणार्थीलाई स्थानीय प्रशासनको समन्वय र सहयोगमा बिहीबार शिविरमै पुगेर झण्डै पाँच लाख रुपैयाँ बराबरको १० हजार केजी चामल उपलब्ध गराएको हो ।
बेलडाँगी शिविरका १६ सय र पथरी शिविरका ५२० परिवारका लागि चामल उपलब्ध गराइएको संघका अध्यक्ष टिकाराज ढकालले बताए । स्थानीय गाउँ–शहरमा मजदूरी गरी जीविकोपार्जन गर्दै आएका ती शरणार्थीहरु कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कामविहीन भइ समस्यामा परेका थिए ।
उनीहरुको अवस्था बुझेपछि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उनीहरुलाई सहयोग गर्न गरेको आग्रह अनुसार खाद्यान्न उपलब्ध गराइएको संघका अध्यक्ष ढकालले बताए ।
जिल्लाका चिया उदोगी, चामल उद्योगी, सिमेन्ट, भेनियर तथा प्लाइउड उद्योगीबाट संकलन गरिएको सो राहत सामग्री प्रजिअ राना, संघका अध्यक्ष ढकाल, उपाध्यक्ष दिपेश ढकाल, कोषाध्यक्ष अरविन्द अग्रवाल, सदस्य विनोद बस्नेत लगायतको टोली शिविरमै पुगेर त्यहाँको समितिलाई एकमुष्ट रुपमा हस्तान्तरण गरेको थियो ।