0 Shares

झापा । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले जारी राखेको लकडाउनमा विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन सहारा नेपाल (साकोस)ले झापाका सबै पालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एकद्वार नीतिबाट लकडाउनका कारण दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले झापाका १५ वटै पालिकालाई नगद उपलब्ध गराइएको सहारा नेपालले जनाएको छ । सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीका अनुसार झापाका सबै पालिकालाई १३ लाख १५ हजार उपलब्ध गराइएको छ ।

उनका अनुसार ८ वटा नगरपालिकालाई १ लाख ११ हजार र ७ वटा गाउँपालिकालाई ६१ हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । त्यस्तै, सहारा नेपालको कार्य क्षेत्र रहेको पूर्वका ६ वटा जिल्लालाई पनि सहयोग गरिएको छ ।

प्रत्येक नगरपालिकालाई ५० हजार र गाउँपालिकालाई २५ हजारका दरले रकम उपलब्ध गराइएको छ भने विराटनगर उपमहानगरपालिकालाई १ लाख ११ हजार आर्थिक सहयोग गरिएको छ ।

यसैबीच, अर्जुनधारा नगरपालिकालाई उपलब्ध गराइएको आर्थिक सहयोग सहारा नेपालका सञ्चालक समितिका सदस्य नरहरि न्यौपाने, नेत्र नेपाल र शनिश्चरे सेवा केन्द्रका प्रबन्धक लक्ष्मीप्रसाद रिजालले आइतबार मेयर हरिकुमार रानालाई हस्तान्तर गरे ।
सहाराको सहयोग रकम बुझ्दै मेयर रानाले सहारा नेपाललाई धन्यवाद दिए । उनले सहाराको सहयोगबाट मजदुरी गर्ने विपन्न परिवार, खोला किनारमा बसेका खोलामा मजदुरी गर्ने परिवारलगायतलाई खाद्यान्नको व्यवस्था गरिने जानकारी दिए ।