0 Shares

पर्वत पोर्तेल,
काँकडभिट्टा । मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको भत्ताबापतको १० लाख रुपैयाँ कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।

जनसंख्या र भूगोलमा जिल्लाकै ठूलो नगरका १५ वटै वडाका जनप्रतिनिधिले रकम जम्मा गर्न लागेका हुन् ।

नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरूसहित ८० जनप्रतिनिधिले वैशाख महिनाको सबै सेवासुविधाबापतको रकम खातामा जम्मा गर्ने निर्णय गरेको प्रमुख विमल आचार्यले जानकारी दिए ।

उनका अनुसार जनप्रतिनिधिले बैठक भत्ता, टेलिफोन खर्च, खाजा खर्च, पुस्तक पत्रपत्रिका, इन्टरनेट खर्च, अनुगमन खर्च, खानेपानी तथा बिजुली खर्च, सरसफाइ र मर्मत, अतिथि सत्कार शीर्षकमा सुविधा बुझ्दै आएका थिए । वैशाखमा यी सबै सुविधा उनीहरूले लिने छैनन् ।