काठमाडौँ । आज १३ अप्रिल । विक्रम सम्वतअनुसार वैशाख १ अर्थात् २०७७ सालको पहिलो दिन । सन् १९३३ मा आजैका दिन पहिलोपटक सगरमाथाको आकाशमा विमानको सफल उडान गरिएको थियो ।

यो योजना १९१८ मै आरोहण मनोविद् अलेक्स्यान्दर केल्लासले ल्याएका थिए, तर यसका लागि पर्याप्त रकम चाहिने भएकाले तत्कालीन समय यो सम्भव भएन । त्यसपछि १९३२ मा लर्ड स्क्लाईस्डेल यही योजना लिएर लेडी हस्टनलाई भेट्न गए, उनले गरेको योजनाबाट लेडी हस्टन प्रभावित भइन् । आकाशबाट विश्वकै सर्वोच्च शिखर चिहाउँदा भारतमा बेलायती शासन थप बलियो हुन्छ भन्ने उनको सोचाई थियो ।

त्यसपछि पानीजहाजमार्फत पाकिस्तानको कराँचीमा प्लेनका पाटपुर्जा ल्याइयो र त्यहाँबाट बिहार हुँदै वेस्टल्यान्ड पिभी–३ बाइप्लेनले सगरमाथाको आकाशमा फन्को मा¥यो । यो उडान २० औं शताब्दीका महत्वाकांक्षी उडानमध्येको एक मानिन्छ । हिमालय क्षेत्रको पहिलो बिस्तृत वैज्ञानिक अध्ययन यही उडानले गरेको थियो ।

उडानका दौरान खिचिएका तस्विरले तेजिन्ङ नाेर्गे शेर्पा र एडमण्ड हिलारीलाई सगरमाथाको चुचुरोमा पुग्ने बाटो पत्ता लगाउन ठूलो सहयोग मिलेको थियो । २९ मे १९५३ मा हिलारी र तेन्जिङ नोर्गेले मिलेर सगरमाथाको टुप्पोमा मानव पाइला राखेका थिए । एजेन्सी