झापा । लकडाउनका बेला झापाको अर्जुनधारा क्षेत्रबाट नदीजन्य सामग्री ओसार्ने पाँच वटा ट्याक्टरलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको फाइदा उठाउँदै रातको समयमा बालुवा, गिटी ओसारिरहेको अवस्थामा अर्जुनधारा ४ दहिझोडास्थित नदी क्षेत्रबाट मंगलबार राति तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । ना. ७ त ४८६८, मे. १ त ५८२९ र मे. १ त ६५३३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
चार वटा ट्याक्टरमध्ये एउटा भागेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका तीनैवटा ट्याक्टर शनिश्चरे प्रहरी चौकीमा राखिएको अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज दिपेश पौडेलले जानकारी दिए ।
त्यस्तै, अर्जुनधारा ११ स्थित लक्ष्मी मावि नजिकैबाट थप दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । एउटा अन टेस्ट र को. २ त ७२८८ नम्बरको ट्याक्टरलाई प्रहरीले राति नियन्त्रणमा लिएको हो । अर्जुनधारा नगरपालिकाका कर्मचारी महेश निरौलाका अनुसार बालुवा ओसारिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिइएको हो । दुवै ट्याक्टर नगरपालिका हाताभित्र राखिएको छ ।
शनिश्चरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र अधिकारी र नगरको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतको संयुक्त टोली अर्जुनधाराकाे बाहिर क्षेत्रबाट नगर प्रवेश गर्ने व्यक्तिको निगरानीमा खटिरहेको छ । काेराेना संक्रमणा राेक्नका लागि संयुक्त टाेली परिचालित भएकाे हाे ।
यसैबीच, लकडाउन उल्लंघन गरी चलाइएकाे बा. ५ च ७८६१ नम्बरकाे कार पनि प्रहरीले नियन्त्रणमा लिएर राखेकाे छ ।