बिर्तामोड । झापामा रगतको तीव्र अभाव छ । लक डाउनका कारण देश ठप्प भइरहँदा रक्तदानका कार्यक्रम हुन सकिरहेका छैनन् । जटिल यो अवस्थामा रगत अभाव पूरा गर्न सकस परिरहेका बेला नेपाल विद्यार्थी सङ्घ झापाले रक्तदान कार्यक्रमलाई अभियानका रुपमा सुरु गरेको छ ।
लगातार तीन दिनसम्म रगत दिने व्यवस्था नेविसङ्घले मिलाएको हो । नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्ताले बिहीवार रगत दिएका छन् । नेपाल रेडक्रस सोसाइटीको बिर्तामोडस्थित कार्यालयमा गएरै रगत दिनु पर्ने व्यवस्था मिलाइएको हो ।
नेविसङ्घले आफूलाई पायक पर्ने रेडक्रसका रक्तसञ्चार शाखामा गएर रक्तदान गर्न कार्यकर्तालाई निर्देशन दिएको नेपाल विद्यार्थी सङ्घ बिर्तामोड नगर समितिका सभापति योगेन गोदार थापाले बताए ।
नेपाल विद्यार्थी संघको ५०औं स्थापना दिवस एवम् सहीद राजन गिरी को १४ औं स्मृति दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ झापाले रक्तदानका लागि तीन दिने अभियान चलाएको हो । नेपाल रेडक्रस सोसाइटी उप शाखा बिर्तामोडमा नेविसङ्घ झापाका सभापति राजेन्द्र उप्रेतीले रगत दिएर कार्यक्रमको शुभारम्भ गरेका छन् ।
कार्यक्रममा जिल्ला सह–सचिव एवम् कन्काई कलेज ईकाई सभापति मिलन चापागाईं, कन्काई कलेज स्ववियु सदस्य बिनोद तामाङ लगायतले पनि रगत दान गरेका छन् । ‘इच्छुकले नजिकको रक्तसञ्चार केन्द्रमा गएर रगत दिन सक्छन्’, उनले भने, ‘हामीले सबै कार्यकर्तालाई रक्तदानका लागि भनिसकेका छौँ ।’
लक डाउनका कारण झापामा रगत अभाव चुलिएपछि नेपाल विद्यार्थी सङ्घले अभियानका रुपमा तीन दिनसम्म रक्तदान गर्न लागेको सभापति थापाले बताए । रक्तदान शनिवारसम्म चल्नेछ ।