बिर्तामोड । नेपाल अलैँची व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले विपन्न अवस्थाका ३३ जना मजदूरलाई खाद्य सामग्री वितरण गरेका छन् । लकडाउनका कारण कामविहीन भएका मजदूरलाई उनले चामल वितरण गरेका हुन् । चैत ११ देखि मुलुक लकडाउनमा छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि दैनिक काम गरेर खानेहरु समस्यामा छन् । उनीहरुको समस्यालाई बुझेर चामल वितरण गरिएको महासङ्घका निवर्तमान अध्यक्ष भट्टराई बताउँछन् । गोदाममा अलैँची प्रोसेसिङ गर्दै आएका कामदारलाई लकडाउनले समस्या भएपछि अलैँची व्यवसायी भट्टराईले प्रतिकामदार २५ किलोका दरले चामल वितरण गरेका छन् ।

‘काम रोकिएपछि उनीहरु सङ्कटमा परेको अवस्था देखियो’, व्यवसायी भट्टराईले भने, ‘उनीहरु भोकै पर्न लागेपछि तत्कालका लागि चामलको व्यवस्था गरेको छु ।’ उनले ३३ जना कामदारलाई चामल वितरण गरिएको बताए ।