झापा । महिला उद्यमी सङ्घ झापाले अर्जुनधारा र बिर्तामोड नगरपालिकाको विपन्न राहत कोषमा शुक्रबार आर्थिक सहयोग सहयोग गरेको छ ।

आफ्ना सदस्यमार्फत सङ्कलन भएको रकम सङ्घले नगरपालिका पुगेर राहत कोषमा जम्मा गरेको हो । सङ्घका पदाधिकारीको टोलीले अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानालाई नगद १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।

संघकी अध्यक्ष गोमा भट्टराई ,महासचिव नैनकला भट्टराईको टिमले लकडाउनका कारण विपन्नलाई खाद्यान्नको अभाव नहोस भनेर आर्थिक सहयोग उपलब्ध गराएको बताइएको छ ।

त्यस्तै, बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा संस्थाका तर्फबाट बिहीवार २५ हजार एक सय रुपैयाँ जम्मा गरेको संस्थाकी अध्यक्ष गोमा भट्टराईले बताइन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन देश लकडाउन भएपछि नगरपालिकाले कोष स्थापना गरी विपन्नलाई राहत दिँदै आएको छ । अध्यक्ष भट्टराईको नेतृत्वमा गएको टोलीले नगर प्रमुख ध्रुवकुमार सिवाकोटी र उपप्रमुख पवित्रा महतारालाई रकम बरावरको चेक हस्तान्तरण गरेको हो ।