झापा । कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको अवस्थामा सरकारले लगाएको लकडाउन उल्लंघन गर्ने बढेपछि प्रहरीले अर्जुनधारा नगर क्षेत्रमा सन्देशमुलक प्लेकार्ड प्रदर्शन गर्न थालेको छ ।

प्रहरी चौकी शनिश्चरे र अस्थायी ट्राफिक प्रहरी पोस्टले संयुक्तरुपमा कोरोनाविरुद्ध सन्देशमुलक कार्यक्रमलाई नगरमा अभियानकै रुपमा थालनी गरेको हो । प्रहरीको संयुक्त टोलीले शनिश्चरे माविको अगाडि विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गर्नुका साथै माइकबाट प्रचारप्रसार पनि गरेको थियो ।

अस्थायी ट्राफिक पोस्टका इन्चार्ज दिपेश पौडेलका अनुसार नगरको ५, ८ र ७ नम्बर वडामा शुक्रबार अभियान चलाएको हो । भोलि शनिश्चरे चोक बजारमा उक्त अभियान रहने बताइएको छ ।

प्लेकार्डमा लेखिएको छ,
हामी परिवार नभेटी सेवामा, तपाई परिवार छाडेर किन जोखिममा ?
हामी भोकै जोखिममा, तपाई किन सडकमा ?

नमिठो भए पनि घरकै खाऔँ, मिठो खोज्न बाहिर नआऔँ ।
कोरोनाले माया गर्दैन, बाहिर आउनेलाई छाड्दैन ।

घरभित्र बस्दैमा केही हुन्न, बाहिर आएमा रोग लागेमा निको हुन्न ।
तपाई आउँदा सडकमा, हामी सबै हुन्छौँ जोखिमा ।