काठमाडौं । सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि गरेको छ ।

‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र चितवनका दुई जना छन्’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १६ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा लुकेर बसेका १२ जनामा र चितवनमा आमा छोरामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

चितवनको राप्ती नगरपालिकाका आमा छोरामा आज विहान गरिएको ¥यापिड टेष्टमा संक्रमणको पुष्टि भएपछि आज साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर टेष्ट पनि पोजिटिभ पाइएको हो ।

यस्तै उदयपुरको भुल्केस्थित मस्जिदका १२ जनामा गत मंगलबार गरिएको परीक्षण पोजिटिभ पाइएपछि आज विराटनगर हुँदै पुनः काठमाडौंमा गरिएको परीक्षणबाट पनि पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय र ६३ वर्षीय पुरुष छन्। उदयपुरमा संक्रमण पुष्टि भएकामाहरुमा पनि सबै पुरुष नै छन्। उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ।

योसंगै नेपालमा अब कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसमा एक जना स्वस्थ्य भएर घर फर्किसकेका छन् ।