0 Shares

झापा । अर्जुनधारामा रहेका विभिन्न खोलाबाट नदी दोहन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिने क्रम बढेर गएको छ ।

सशस्त्र प्रहरी बलको शनिश्चरे बेस क्याम्पको गस्ती टोलीले शुक्रबार २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बेस प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टका अनुसार मे. १ त २१६२ र मे. १ त ५९७९ नम्बरको ट्याक्टरलाई गस्ती टोलीले बलुवा तस्कर गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका नदीमा रहेका नदीजन्य सामग्रीको ठेक्का लागेको छैन । अन्य सामान्य अवस्थामा पनि ओसारपसार तथा उत्खन्न् गर्न प्रतिबन्ध छ । तर, लकडाउनको फाइदा उठाउँदै नदी दोहन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवालको गस्ती टोलीले फुलमती खोला नजिकबाट नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले सरकारले लागु गरेको लकडाउनलाई पूर्णतः पालना गर्न कुनै पनि कसर बाँकी नराख्ने भन्दै दिनदिनै झन् कडा गर्ने जनाएको छ । अनावश्यक हिँडडुल र भिडभाड निन्यत्रणमा सशस्त्र प्रहरीको टोली सक्रिय रहेको बताइएको छ ।

दुवै ट्याक्टर बेस क्याम्प परिसरमा राखिएको छ भने यसअघि दुई वटा टिपर पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस्तै, प्रहरी चौकी शनिश्चरेको टोलीले ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।