0 Shares

अर्जुन राजवंशी,
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले व्यक्तिको निजी जमिन मिचेर पुल निर्माण थालेको छ । पीडितले निर्माण कार्य रोक्न लिखित र मौखिक आग्रह गरे पनि नगरपालिकाले जबरजस्ती पुल निर्माण कार्यलाई अघि बढाएको छ ।

बिर्तामोड–४ स्थित अन्धुवा खोलामा नगरपालिकाले ११ दशमलव २० मिटर लम्बाई तथा ६ मिटर चौडाईको पुल निर्माण थालेको हो। पुल अनिवार्य विल्डर्सले ४० लाख रुपैयाँमा गत वर्ष नै ठेक्का लिएको थियो।

अन्धुवा खोला २४ फिट चौडाईको छ। तर, नगरपालिकाले साविक खोलाको भाग क्लियर नगरी नजिकैको निजी जमिन मिचेर पुल बनाउन थालेको हो। खोलासंगै पश्चिमपट्टी स्थानीय हरि धिमालका छोरा प्रणिलको नाममा कित्ता २३६० र ४२८२ नम्बरको तीन कट्ठा १० धुर जमिन छ। नगरपालिकाले धिमालको करीब ३० फिट निजी जमिन मिचेर पुल निर्माण थालेको छ।

१० फिटभन्दा बढी खोलाको भाग मिचेर पूर्वपट्टी जग्गा व्यापारी हरि कडरियाले पक्की पर्खाल लगाएका छन्। उक्त पर्खालका कारण खोला केही वर्षयता पश्चिम धारबाट बगिरहेको छ।

‘नगरपालिकाले जबरजस्ती मेरो नम्बरी जमिन मिचेर पुल बनाउन थालेको छ’, पीडित धिमालले भने, ‘पुल निर्माण कार्य रोकेर साविक खोलाको भाग क्लियर गर्न फागुन २१ मा नगरपालिकामा निवेदन दिएको थिएँ। तर, मेरो निवेदनको वास्ता नगरी जबरजस्ती पुल बनाउने काम भइरहेको छ।’

पुल खोलामा नभई निजी जमिनमा निर्माण भइरहेकोप्रति नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीसहितका जनप्रतिनिधि जानकार रहेको धिमालको दाबी छ। ‘पूर्वपट्टीबाट खोला मिचिएको छ भनेर मेयरसापलाई राम्ररी थाहा छ। नगरपालिकाकै अमिनले फिल्ड भिजिट गरेर खोला मिचिएकोबारे प्रतिवेदन पनि दिएका छन्। तर पनि, मेरो जमिनमा पुल बनाउने काम रोकिएको छैन’ उनले भने।

आफू अन्यायमा परेको लिखित र मौखिक रुपमा जानकारी गराउँदा समेत नगरपालिकाले जबरजस्ती पुल बनाइरहेको धिमालले बताए। पुल निर्माण कार्य रोकिदिन माग गर्दै पीडित धिमालले बिहीबार जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका छन्।

धिमाल अन्यायमा परेको मेयर ध्रुवकुमार सिवाकोटी स्वीकार गर्छन्। तर, पुल निर्माण गर्ने कार्य नरोकिने उनको दाबी छ। असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने भएकाले काम रोकेर छलफलमा बस्न नसकिने उनको भनाइ छ।

‘धिमाल अन्यायमा परेका हुन्, मलाई थाहा छ। उनको जमिनको क्षतिपूर्ति पूर्वपट्टी खोला मिचेर पर्खाल बनाउने कडरियाले बेहोर्नुपर्छ। कम्तीमा २५ प्रतिशत क्षतिपूर्ति दिलाउने जिम्मा मेरो हो भनेर मैले धिमाललाई भनिसकेको छु’, मेयर सिवाकोटीले भने।

खोला धिमालको निजी जमिन भएरै बगिरहेकोले सोही स्थानमा पुल निर्माण थालेको उनको भनाइ छ। उक्त स्थानमा पुल निर्माण गर्नु तत्कालको जरुरी भएकाले विवाद समाधान र पुल निर्माण संगसंगै अघि बढ्ने उनले बताए।

पुल निर्माण कम्पनीका सञ्चालक डीआर वस्ती पनि धिमाल अन्यायमा परेको बताउँछन्। ‘३७ फिट लम्बाईको पुलमा ८ फिट जति मात्र खोला भागमा पर्छ। बाँकी सबै धिमालको निजी जमिनमा पुल बनाउनु परिरहेको छ’ उनले भने। कान्तिपुरबाट