बिर्तामोड । नेपाल विद्यार्थी संघका ३५ नेता कार्यकर्ताले रक्तदान गरेका छन् ।
लक डाउनले यातायात ठप्प भएका बेला उनीहरुले नजिकको रक्तसञ्चार केन्द्रमा गएर रगत दान गरेका हुन् । अहिले झापामा रगतको तीव्र अभाव छ ।
कोरोना भाइरसको संक्रमण फैलिने त्रासका बीच लक डाउनका कारण देश ठप्प भइरहँदा रक्तदानका कार्यक्रम पनि हुन सकिरहेका छैनन् ।
यस्तो बेलामा नेविसंघले नेता कार्यकर्तामार्फत ३५ पिन्ट रगत जुटाएको हो । उसले रक्तदान गर्न अभियान सञ्चालन गरेको थियो ।
नेपाल विद्यार्थी संघको ५०औँ स्थापना दिवस एवम् सहीद राजन गिरीको १४औँ स्मृति दिवसको अवसर पारे आयोजित अभियानको पछिल्लो तीन दिनमा ३५ जनाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रमा रगत दिएको नेविसंघ बिर्तामोड नगर सभापति योगेन थापाले बताए ।
नेविसंघले आफूलाई पायक पर्ने रेडक्रसका रक्तसञ्चार शाखामा गएर रक्तदान गर्न कार्यकर्तालाई निर्देशन दिएको थियो । नेपाल रेडक्रस सोसाइटी उप शाखा बिर्तामोडमा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले रगत दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।