झापा । क्वारेन्टाइनमा कोरोना भाइरस संक्रमण भएको आशंकामा राखिने गरिए पनि अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले लागुऔषध प्रयोगकर्ता (ड्रग युजर)लाई क्वारेन्टाइनमा राखेको छ ।
शनिश्चरे प्रहरी चौकीको समन्वयमा अर्जुनधारा ४ मा स्थापित क्वारेन्टाइनमा तीन जनालाई राखिएको हो । क्वारेन्टाइनमा राखिएकामध्ये २ जना महिला र १ जना पुरुष छन् ।
अर्जुनधारा ८ स्थित एक बाँसघारीमा आइतबार बिहान पक्राउ परेका तीन जनालाई क्वारेन्टाइनमा राखिएको हो । १८ वर्षीया किशोरी, २४ वर्षीय युवा र २५ वर्षीया युवतीलाई क्वारेन्टाइनमा राखिएको हो ।
क्वारेन्टाइनमा राखिएकामध्ये एक युवाले भारतको पानीटंकीबाट आवतजावत गरेको पाइएपछि सम्भावित खतराबाट बच्नका लागि क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।
जिल्ला र नगरपालिका बाहिरबाट आउने ७ जना अहिले नगरको क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य शाखाले नगर र जिल्लाबाट बाहिरबाट आउने व्यक्तिलाइ कडाइका साथ निगरानी गर्दै आएकाे छ ।