झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको थप र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले क्वारेन्टाइनमा रहेका २ जना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।
बाँकी १२ जना होम क्वारेन्टाइनमा रहेका व्यक्तिको आरडीटी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । होम क्वारेन्टाइनमा रहेकामध्ये एक जना बेलायत र एक जना कतारबाट आएका हुन् ।
स्वास्थ्य शाखाले यसअघि क्वारेन्टाइनमा रहेका ५ जना र होम क्वारेन्टाइनमा रहेका २ जनाको आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । हाल क्वारेन्टाइनमा रहेका सिरहाका २ जनालाई आज मंगलबार फिर्ता पठाइने भएको छ भने क्वारेन्टाइनमा बाँकी पाँच जना रहनेछन् ।
प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियन केशव अधिकारी, ल्याव असिस्टेन्ट नेत्र घिमिरे र दीपा श्रेष्ठको प्राविधिक सहयोगमा आरडीटी परीक्षण गरिएको हो ।