झापा । सरकारले आह्वान गरेको लकडाउनको मौका छोपी झापाको कन्काई नगरपालिकाका मेयरले कटान आदेश विनै राजमार्गका रुख कटान गरेका छन् ।

कन्काई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले कटान आदेश बिना पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कन्काई–७ दुर्गापुरस्थित आफ्नै घर अगाडीका सरकारी रुख काटेका हुन् ।

सडक किनारमा रहेका ४ वटा ठूला मसला जातका रुख काटिएका हुन् । सरकारी जमिनमा भएका रुख काट्न कटान आदेश चाहिन्छ । तर, आदेश विनै मेयर पोखरेलको ठाडो आदेशमा रुख काटिएका हुन् ।

सातवटा रुख काट्ने योजना भए पनि सडक डिभिजन दमक र डिभिजन वन कार्यालय झापाले थाहा पाएपछि कटान रोकिदिएका छन । डिभिजन वन कार्यालय झापाको निर्देशनमा सेक्टर वन कार्यालय सुरुङ्गाले हाल काटिएका रुख नियन्त्रणमा लिएको छ ।

कन्काई नगरपालिकाका मेयर पोख्रेलले रुखका हाँगा काट्न मौखिक अनुमती मात्रै लिएको भए पनि रुख काट्न नमिल्ने डिभिजन वन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरेले बताए ।

प्रक्रिया विना नै रुख काटिएको कुरा थाहा पाएपछि आफू मातहतको टोली उक्त स्थानमा पठाएको घिमिरेले बताएका छन् । काटिएका रुख सोमबार नगरपालिकाको फोहोर मैला उठाउने गाडी प्रयोग गरि सेक्टर वन सुरुङ्गामा लगेर राखिएको बताइएको छ ।

यस बिषयमा मेयर पोख्रेलको धारणा बुझ्न खोज्दा नबोल्ने भन्दै पन्छिएका छन् ।