तीर्थ तिम्सिना,
बुधबारे– विपन्न परिवारको राहतका लागिस्थापना गरिएको कोषमा रकम जम्मा गर्ने क्रम बढ्दै गएको छ । बुद्धशान्ति गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरसको प्रकोप व्यवस्थापन कोषमा राहत रकम जम्मा हुँदै गएको हो ।

मंगलबार बुद्धशान्ति गाउँपालिकाभित्र दिनरात स्वास्थ्यलाई जोखिम मोलेर सेवा दिइरहेका स्वास्थ्यकर्मीले समेत स्वतस्र्फूत रुपमा सहयोग रकम जम्मा गरेका छन् ।

गाउँपालिकाभित्र रहेका छवटा सामुदायिक स्वास्थ्य इकाई, एउटा स्वास्थ्य शाखा, एउटा आयुर्वेद र दुईवटा स्वास्थ्य चौकीमा कार्यरत ३७ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य कर्मचारीले ५६ हजार रुपैँया विपत व्यवस्थापन कोषमा जम्मा गरेका छन् ।

उक्त रकम गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल र प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईंलाई हस्तान्तरण गरिएको छ ।

बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारी र शान्तिनगर स्वास्थ्य चौकी प्रमुख भरत खतिवडा लगायतले गाउँपालिकालाई रकम हस्तान्तरण गरेका हुन् । विपन्नको राहतका लागि गाउँपालिकाले स्थापना गरेको विपत कोषमा थोरै भए पनि रकम सहयोग गरिएको स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए ।

शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख भरत खतिवडाले स्वास्थ्यकर्मी भएको नाताले समेत राहत रकम कोषमा जम्मा गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले सम्भवत झापा जिल्लामै पहिलोपल्ट स्वास्थ्यकर्मीले राहत कोषमा सहयोग गरेको बताएका छन् ।

यसलाई उदाहरण मानेर अन्य स्थानीय तहका स्वास्थ्यकर्मीले समेत सिको गरी राहत रकम सहयोग गर्न सके स्थानीय सरकारलाई राहत वितरणमा थोरै भए पनि सहयोग पुग्ने उनीहरुको धारणा छ ।

गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले दिनरात नभनी बिदा पनि नबसी आफ्नो स्वास्थ्यलाई दाउमा राखेर सेवा दिइरहने स्वास्थ्यकर्मीले समेत स्थानीय सरकार बुद्धशान्ति गाउँपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोग रकम गरेकोमा प्रशंसा गर्दे धन्यवाद दिएका छन् । उनले आगामी दिनमा स्थानीय सरकारलाई सहयोग गर्ने सम्पूूर्णलाई सम्मान पत्रले सम्मान गर्ने पनि बताए ।

गाउँपलिका उपाध्यक्ष मीरा भुर्तेलले समेत अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीले समेत स्थानीय सरकारलाई सहज होस् भनी राहत कोषमा रकम जम्मा गरेकोमा स्वास्थ्यकर्मी सवैलाई धन्यवाद दिएकी छन् । गाउँपालिकाको विपत व्यवस्थापन कोषमा मंगलबारसम्म १८ लाख रुपैँया भन्दाबढी रकम जम्मा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताएका छन् ।

दाताले कोषमा विभिन्न जिन्सी समेत जम्मा गर्दै आएका छन् । जसमध्ये चामल १०६ क्वीन्टल जम्मा भएको छ । गाउँपालिकाले पहिलो चरणको राहत वितरण गरिसकेको छ । छुट भएका विपन्न परिवारलाई बुधबारदेखि राहत वितरण गर्ने जनाइएको छ ।