काठमाडौं । एकपछि अर्को रिपोर्टअनुसार उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

हिजोसम्म नेपालमा संक्रमितको संख्या ३१ जना थियो । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जनामा पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस मिटमा एक जनामा मात्र संक्रमणको पुष्टि भएको जानकारी दिइएको थियो । तर, पछिल्लो रिपोर्टअनुसार थप एक जनाको पनि प्रयोगशालामा संक्रमण भएको पुष्टि भएको थियो ।

यसैगरी, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उदयपुरकै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या ४१ पुगेको हो ।

यसैबीच, पुष्टि भएसँगै प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए।

‘उदयपुर जिल्लाभित्र पूर्ण रुपमा लकडाउन गर्ने र जिल्लाको सबै नाका सिल गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं।’

स्थानीय प्रशासनले जिल्लाभरी लकडाउन गरिसकेको र जिल्ला पनि सिल गर्ने तयारी गरिररहेको जानकारी आएको मन्त्री कार्कीले बताए।

मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएको थियो।

कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो।

थप यकिन गर्न आठजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्दासमेत संक्रमण देखिएको पुष्टि भएको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

यससँगै भुल्केमा संक्रमितको संख्या २३ पुगेको छ। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एक जनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्री घिमिरेले अब भुल्केका प्रत्येक व्यक्तिको स्वाब नमूना परीक्षण गर्ने नीति लिएको बताए। ‘कन्ट्याक्ट ट्रेसिङमा नुरी मस्जिदमा आएका अनय मस्जिदका ३५ जना धर्म गुरु बसेका अन्य ६ मस्जिद भएको बस्तिको समेत स्वाब नमूना परीक्षण गर्ने अवस्था आएको छ,’ उनले भने, ‘मस्जिद भएको बस्तीबाट अन्य बस्तीमा कोरोनाको संक्रमण फैलिन नदिन पहिले पूर्णरुपमा लकडाउन र सिल गर्ने नीति लिएका छौं।’ लकडाउन र सीलपछि क्रमिक रुपमा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षण गर्ने उनको भनाइ थियो।

उनले भुल्केमा लकडाउन हुनु एक हप्ता अगाडिदेखि को को कहाँ गएको र को को कहाँबाट आएको तथ्यांक लिने काम भइरहेको बताए। उक्त तथ्यांकका आधारमा स्वाब परीक्षण गरेर संक्रमण फैलिने कारण र व्यक्ति पत्ता लगाउने नीति लिएको घिमिरेको भनाइ थियो।