झापा । कोरोना भाइरसको महामारीका कारण लकडाउनको समयमा दीर्घरोगीहरुलाई औषधिको समस्या भइरहेको बेला झापा अर्जुनधारा नगरपालिकाको वडा नम्बर १० ले प्रेसर, सुगरको औषधि निःशूल्क वितरण गरेको छ ।

वडा कार्यालय हाताभित्रै अर्जुनधारा–१० वडा समितिको समन्वयमा औषधिसँगै विभिन्न सामग्री वितरण गरिएको हो । वडाध्यक्ष बलदेव गोम्देनका अनुसार अत्यावश्यक सेवाका लागि बाहिर निस्कनुपर्ने व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गरी बुधबार वडामा रहेका पाँच वटा टोल विकास मार्फत् दुई हजार थान सर्जिकल मास्क वितरण गरिएको छ ।

टोल विकास १का स्थानीय ज्येष्ठ नागरिक ज्ञानबहादुर तामाङलाई सर्जिकल मास्क लगाई उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । वितरण गरिएको उक्त मास्कहरुमध्ये एक हजार थान इञ्जिनियर सुशिल श्रेष्ठ र एक हजार थान औषधि व्यवसायी घनेन्द्र खनालले प्रदान गरेका हुन् ।

त्यसैगरी समितिले अर्का औषधि व्यवसायी नरेन्द्र बरालको सहयोगमा प्रदान भएको एक लाख ५० हजार बराबरको प्रेसर र सुगरको औषधि वडामा रहेका बिरामीहरुलाई हाल वितरण गर्ने कार्य भइरहेको वडा सदस्य भोला गौतमले बताए ।

उनका अनुसार स्वास्थ्य बीमा गर्न नसकेका, बीमा गरेर पनि औषधि नपाइरहेका बिरामीलाई लक्षित गरी वडा कार्यालयमार्फत दैनिक औषधि वितरण भइरहेको छ ।

त्यस्तै वडा समितिको समन्वयमा मेचीनगर–१२ स्थित जुनतारा कृषि सहकारी संस्थामार्फत् वडामा रहेका कृषकहरुलाई यसअघि ५० बोरा युरिया मल वितरण गरिएको र थप ५० बोरा वितरण गर्ने तयारी भइरहेको बताइएको छ ।

समितिले यसअघि नगरपालिका र दाताहरुको समन्वयमा वडाका विपन्न नागरिकहरुलाई लक्षित गरी पहिलो चरणमा ५७८ जनालाई राहत सामग्री वितरण गरेको अर्का वडा सदस्य सकुन्तला बरालले जानकारी दिइन् ।

वडाले विपन्न परिवार, ज्यालादारी मजदुर परिवारका लागि थप राहत प्याकेजको तयारी गरिरहेको बताइएको छ ।