इलाम । पछिल्लो समयमा बढ्दै गएको संक्रमितको संख्यालाई ध्यानमा राखेर इलामले ८८० बेडको क्वारेन्टाइन निर्माण सुरु गरेको छ ।

सामुदायिक अस्पताल, सरकारी भवन र विद्यालयलाई उपयोग गरेर जिल्लाका दश स्थानीय तहमा ८८० बेडको क्वारेन्टाइन निर्माण सुरु गरेको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए।

इलामका ४ नगरपालिका र ६ गाउँपालिकामा अहिले ३२१ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ । ती क्वारेन्टाइनमा जम्मा १५ जना मात्रै बसेका छन् । सम्भावित चापलाई ध्यान राखेर क्वारेन्टाइनका लागि पहल सुरु गरेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिए ।

होम क्वारेन्टाइनमा रहेका हरुको निगरानी समेत कडा बनाएको समन्वय समिति प्रमुख बरालले बताए । उनले अहिले पनि भारतबाट आउने क्रम नरोकीएको बताए । नाकामा निगरानी बढाएपनि चोरबाटो प्रयोग गरेर आउने क्रम नरोकीएको उनको भनाई छ ।

इलामबाट भारत गएका एक सय भन्दा बढि भारतमै रहेको अनुमान छ । त्यसबाहेक दार्जिलिङ र सिक्किममा काम गर्न गएका विभिन्न जिल्लाका नेपालीहरु समेत लकडाउन खुकुलो भएपछि इलामको नाका प्रयोग गर्ने भएकाले थप सर्तकता अपनाइएको बरालले बताए ।