मेचीनगर । पूर्वी नाकास्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टाको मुख्य प्रवेशद्वारमा डिस इन्फेक्सन टनेल जडान गरिएको छ । कोरोनाबाट जोगिन पूर्व सावधानीस्वरुप विभिन्न सहकारी संस्थाको सहयोगमा प्रहरीको गेटमा टनेल निर्माण गरिएको हो ।

टनेलमा प्रयोग गरिएको इएम झोलको घोलमार्फत पूरा शरीरलाई डिसइन्फेक्सन गराएर मात्र प्रहरी कार्यालयभित्र प्रवेश गर्ने ब्यवस्था गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

महेन्द्रद्वार, आधुनिक, मखमली महिला, मेची मासु उत्पादक तथा उपभोक्ता, नागरिक, र काँकडभिट्टा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त लगानीमा टनेल निर्माण गरिएको हो ।

बुधबार प्रहरीलाई टनेल हस्तान्तरण गरिएको मखमली महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा प्रधान कार्कीले बताइन् । महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहालका अनुसार टनेल निर्माणमा ४० हजार खर्च भएको छ । सबै सहकारीले दामासायीले लागत व्यहोरेका छन् ।

मान्छेभित्र प्रवेश गर्दा खुट्टाबाट स्वीच अन गरेर प्रवेश गर्ने र मानिस टनेलबाट बाहिर निस्किँदा आफैं बन्द हुने गरी टनेलको निर्माण गरिएको छ । टनेलभित्र रहेका पाँचवटा नोजलबाट इएम घोलसँग मिश्रण गरिएको पानीको फोहोराले मानिसको पुरै शरीरको बाहिरी भाग भिजाउने भएकाले शरीरको बाहिरी भागमा रहेको भाइरस नष्ट हुने अनुमान गरिएको छ ।