0 Shares

विराटनगर । प्रदेश नम्बर १ सरकारले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा ‘लकडाउन’ भएर अवरुद्ध भएका ठूला योजनाहरूको काम सुचारु गरेको छ ।

वर्षायामअघि नै सम्पन्न गर्नुपर्ने अवस्थाका र अतिआवश्यक सेवासँग जोडिएका पुल–पुलेसा र सडकको कामलाई गति दिन प्रदेशमा सञ्चालित केही विशेष आयोजनाको काम सुरक्षालाई मध्यनजर गर्दै प्रदेश सरकारले अघि बढाएको हो ।

लामो समयसम्म अवरुद्ध हुँदा विकास निर्माणमा ढिलाइ हुने भएकोले प्रदेश सरकारले यी आयोजनाको कामलाई तीव्रता दिएको हो ।

प्रदेश सरकारले यस बर्खाअघि नै सक्नुपर्ने र अतिआवश्यक मानिएका बहुवर्षीय सडक निर्माणको काम गरिरहेको हो ।

प्रदेश सरकारले ५ वैशाखमा अवरुद्ध केही विकासे आयोजना अगाडि बढाउने निर्णय गरेको थियो ।

यी कामहरु समयमै हुन नसकेकामा अझै प्रभावित हुनुका साथै आश्रित मजदुरहरूलाई पनि समस्या भएकाले प्रदेश सरकारले प्रदेश गौरवका आयोजनासहित अन्य महत्वपूर्ण विकासे आयोजनाको कामलाई अगाडि बढाएको छ ।

सरकारले अहिलेको अवस्थामा श्रमिकबीच सामाजिक दूरी कायम गरी त्यस्ता आयोजनाको कामलाई प्रदेश सरकारले गति दिइरहेको छ ।

लकडाउनका समयमा पनि प्रदेशमा सञ्चालित केही ठूला विकासे आयोजनाको काम अगाडि बढ्नाले बेरोजगारको संख्या कम हुनका साथै बजारमा पुँजीको तरलताको अभाव पनि हटेर जाने प्रदेश सरकारको निष्कर्ष छ ।

प्रदेश सरकारले अहिले यस अवधिमा एक दर्जन बढी महत्वपूर्ण विकासे आयोजनाको काम सुचारु गर्ने लक्ष्य लिएको छ ।

सरकारले अहिले मोरङको दर्बेशा धनपालथानमा सडक, केशलिया खोलाको पुल र डाँस खोलामा पुल निर्माणको काम सुरु गरेको छ ।

यसलगतै प्रदेशको गौरवको सडक घिनाघाट–विराटचोक सडक, किसानचोक–टाँडीसहित एक दर्जन बढी अतिआवश्यक सेवासँग जोडिएका विकासे योजनाको काम सुरु गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षबाट प्रदेशमा दुई करोडदेखि डेढ अर्बसम्मका ३०० बढी आयोजनाहरु सञ्चालन गरेको थियो । जसमा ७५ भन्दा बढी पुल, ६२ ओटा सडकलगायत खानेपानी, सिँचाइ र सहरी विकासका आयोजना रहेका छन् ।

ती सबै बहुवर्षीय ठूला आयोजना यही आर्थिक वर्षमा ठेक्का लागेर निर्माणको काम सुरु भएको थियो ।